सोमालियामा बाढीका कारण १७ जनाको मृत्यु, तीन लाख ७० हजार विस्थापित
सोमालिया । सोमालियामा आएको बाढीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ। अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार अरू तीन लाख ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित हुनु परेको छ।
राष्ट्रसङ्घीय अधिकारीहरूले बाढीका कारण सोमालियामा ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल पनि गरेका छन्।
राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी कार्यालयले बाढीबाट पाँच लाख ४७ हजार नागरिक प्रभावित भएको जनाएको छ।
“देशको बेलेट वेयन जिल्लाका मात्रै ४५ हजार ५०० घर परिवारका झण्डै २ लाख ३७ हजार जना विस्थापित भएको अनुमान गरिएको छ,” कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
खेतीयोग्य जमिन, भौतिक संरचनाहरू, बाटोहरूलगायत पनि भत्किएर क्षतिग्रस्त भएको अधिकारीहरूले जानकारी दिएका छन्।
“बाढीका कारण हिर्साबेल्ले, जुबल्याण्ड र दक्षिणपश्चिमी राज्यहरू पनि प्रभावित भएका छन्,” राष्ट्रसङ्घले भनेको छ।
विज्ञ र सरोकारवाला निकायहरूले नोभेम्बर महिनाभरी वर्षा भइरहन सक्ने चेतावनी दिएका छन्। उनीहरूले रोगको प्रकोप पनि फैलिन सक्ने बताएका छन्।
लगातारको ठूलो वर्षाका कारण नदीमा पानीको सतह बढेर डुबान भएको अधिकारीहरूले जानकारी दिएका छन्। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment