भारतमा पहिरोको संकेत दिने ‘सेन्सर’ परीक्षण हुँदै, हालको प्रविधिभन्दा निकै सस्तो पर्ने
बीबीसी । भारतका ग्रामीण तथा हिमाली क्षेत्रहरूमा खासगरी वर्षा यामका बेला पहिरो खस्नु सामान्य मानिन्छ। वैज्ञानिकहरूले हालै मात्र स्मार्टफोनमा हुने गतिको मापन गर्ने फिचर ‘मोसन सेन्सर’ को प्रयोग गरेर कम लागतमा पहिरोबारे पत्ता लगाउने प्रविधि विकास गरिएको बताएका छन्।
त्यस्तो प्रविधि जडान गरिएका उपकरणले पहिरोका कारण प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान जाने हिमाञ्चल प्रदेशका २० भन्दा बढी स्थानमा परीक्षण गरिएको छ। उक्त प्रविधिले प्राकृतिक प्रकोपबाट हुने मृत्यु दर तथा त्यसले गर्ने क्षति कम गर्न उल्लेख्य सहयोग गर्ने अपेक्षा गरिएको वैज्ञानिकहरुले बताएका छन्।
एक्सीलेरोमिटर गतिको मापन गर्ने एक प्रकारको मोसन सेन्सर हो जसले गतिमा हुने परिवर्तन मापन गर्छ। स्मार्टफोनहरूमा यसैको प्रयोग गरेर दिक्सूचक अर्थात् कम्पास प्रयोग गर्ने व्यवस्था मिलाइएको हुन्छ। त्यसबाहेक नक्सासँग सम्बन्धित एप तथा फोनको स्क्रिन तेर्सो वा ठाडो बनाउन पनि त्यस एपको प्रयोग हुन्छ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआईटी)का वैज्ञानिकहरूले त्यसैमा केही परिवर्तन गरेर कम लागतमा केही समयअघि पहिरोको चेतावनी दिन सक्ने प्रणालीको रूपमा विकास गर्न सकिने उपाय पत्ता लगाएका छन्। उनीहरूले बीबीसीलाई बताए अनुसार यसको अनुमानित लागत करिब २० हजार भारतीय रुपैयाँ (३२ हजार नेपाली रुपैयाँ) पर्नेछ जुन मौजुदा प्रविधि भन्दा निकै सस्तो हो।
पूर्व सङ्केत
कम्प्युटर इन्जिनियर डाक्टर वरुण दत्त र सिभिल इन्जिनियर डाक्टर केभी उदयले उक्त प्रविधि विकासको नेतृत्व गरिरहेका छन्। मोसन सेन्सरको प्रयोगबाट माटोको चाल मापन गरिरहेको उनीहरू बताउँछन्। “जब यसलाई माटोमा जडान (एम्बेड) गरिनेछ, एक्सीलेरोमिटर माटोको चालसँगै सर्ने गर्छ। माटो तब मात्रै सर्छ जब यसमा कुनै किसिमको बलको प्रयोग हुन्छ,” दत्तले भने।
“सेन्सरले हामीलाई माटोको चालको गति मापन गर्न सहयोग गर्नेछ।” उनका अनुसार श्रृङ्खलावद्ध रूपमा हुने स-साना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्नेछ।
हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपीमा उक्त उपकरणले अधिकारीहरूलाई पहिरोबारे जानकारी गराएको थियो। उक्त उपकरणले दिएको सङ्केतका आधारमा प्रहरीले एउटा सडक खण्डबाट सवारीसाधनहरूलाई हटाएको थियो जुन पहिरोका कारण पछि गएर पूर्ण रूपमा ध्वस्त भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment