निःशुल्क प्राथमिक उपचार तालिमको पाँचौ चरण प्रदेश २ मा हुने
युएई । युएईका सामाजिक अभियन्ता ओम उप्रेती निःशुल्क प्राथमिक उपचार तालिम अभियान लिएर पुनः नेपालका ८ जिल्लाहरूमा पुग्ने भएका छन् ।
हालसम्म नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी पुस १६ देखि प्रदेश नम्बर २ का सात जिल्ला सहित मकवानपुर जिल्लामा पनि आयोजना गरिने घोषणा गरिएको छ।
नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर,नायक रमेश उप्रेती र निर्माता तथा निर्देशक विनोद मानन्धर युएई भ्रमणमा रहेका बेला फेसबुक लाइभ मार्फत आठ जिल्लाहरू र मिति समेत घोषणा गरेका हुन्।
भाग ५ अन्तरगत छनौट भएका जिल्लामध्ये सप्तरीमा पुस १६ गते बुधबार तालिमको समुद्घाटन कार्यक्रम हुनेछ । जिल्ला छनौट भए पनि सप्तरीको केन्द्रमा रहेको कुनै पनि गाउँ वा सहरमा यो तालिम आयोजना गरिने मुख्य प्रशिक्षक समेत रहेका यो अभियानका परिकल्पनाकार ओम उप्रेतीले जानकारी दिएका छन्।
यो चरणको दोस्रो दिन सिरहामा आगामी पुस १७ बिहीबार निःशुल्क प्राथमिक उपचार तालिम प्रदान गरिनेछ।
यसैगरी धनुषामा पुस १८ गते शुक्रबार, महोत्तरीमा पुस १९, गते शनिबार, रौतहटमा पुस २० गते आइतबार, बारामा पुस २१ गते सोमबार, पर्सामा पुस २२ गते मंगलबार र अन्तिम दिन मकवानपुरको हेटौँडामा पुस २३ गते बुधबार तालिम समापन कार्यक्रम गरिने उप्रेतीले जानकारी दिए।
युएईमा सिकेको ज्ञान र सीपलाई नेपालका सबै जिल्लामा निःशुल्क पुर्याउने लक्ष्य बोलेर २०७४ चैत १ बाट डिस्कभरी रोयल स्पोर्ट्स प्नालीका प्रबन्ध निर्देशक ओम उप्रेतीले आफ्नो गृहजिल्ला चितवनबाट शुरु गरेको यो तालिम नेपालका ३८ जिल्लाहरूमा सम्पन्न भइसकेको छ।
यो तालिममा १६ वटा रोग लाग्दा वा अचानक दुर्घटनामा पर्दा, हृदयाघात, बेहोस, रक्तस्राव आदि अवस्थामा बिरामीलाई कसरी जीवनरक्षा गरी अस्पतालसम्म पुर्याउने भन्ने विषयमा आधुनिक प्रविधि सहित प्राथमिक उपचार तालिम प्रदान गरिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment