सागमा कम्तिमा ५० स्वर्ण जित्ने नेपालकाे लक्ष्य

डिसी नेपाल
३० कार्तिक २०७६ १८:३९
4
Shares

काठमाडौं । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

१३ औं साग मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गरि दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखिएको जनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रतियोगिता आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले पनि राम्रो तयारी भएकाले धेरै स्वर्ण पदक जित्ने सम्भावना बढेको बताएका हुन् ।

परिषद्ले २१ जना खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएको छ भने नेपालमै रहेका अधिकांश खेलमा पनि विदेशी प्रशिक्षक ल्याएर तयारी गरिरहेको छ ।

सदस्य सचिव सिलवालले स्वर्ण पदक हासिल गर्नका लागि तयारी राम्रो भएको र खेलाडी तथा प्रशिक्षकलाई हौसला प्रदान गर्नका लागि एकसाता भित्र छुट्टै कार्यक्रम गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि जानकारी दिएका छन् । उनले पुर्वाधारका बाँकी कामहरु पनि सम्पन्न हुने क्रममा रहेको बताए ।

पत्रकार सम्मेलनमा साग मुल आयोजक समिति अन्र्तगत प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइरालाले विगतको तुलनामा तयारी राम्रो, भत्तामा वृद्धिलगायतले खेलाडीको हौसला बढेकाले उत्साहजनक खेल हुनुको साथै अहिलेसम्मकै राम्रो नतिजा हासिल गर्ने अपेक्षा आफूहरुले लिएको बताए ।

सात देशका ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी पाहुना सहभागी हुने बताईएको छ । काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुने छ । फुटबल, भलिबल, क्रिकेटका खेलहरु पोखरा र काठमाण्डौ दुवै स्थानमा हुनेछन् ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदका लागि प्रतिस्पर्धा हुनेछ ।

सरकारले साग प्रतियोगिता गर्नका लागि आवश्यक पुर्वाधार निर्माणको लागि १ अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाको लागि ३ अर्ब ६५ करोड रुपैयाँको बजेट निकासा गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *