रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न सिकन्छ : परराष्ट्रमन्त्री

डिसी नेपाल
१० मंसिर २०७६ १९:०२

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपसी विश्वास, राजनीतिक समझदारी विस्तार, आर्थिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध प्रवद्र्धनका साथै साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा रसियासँग सुदृढ सहकार्य गर्न आफू मस्को पुगेको बताएका छन्।

रुसी महासंघको औपचारिक भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले मंगलबार मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्समा प्रवचन दिँदै बहुआयामिक नेपाल–रसिया सम्बन्धका विविध पक्षबारे चर्चा गरे।
परराष्ट्र मन्त्रालयका अनुसार उनले नेपाल–रसिया सम्बन्ध, परिवर्तित सन्दर्भमा नेपालको परराष्ट्र नीति, नेपालको विकास प्रयास र भावी योजना तथा प्राथमिकता, नेपालको शान्ति प्रक्रिया र त्यसपछिका अवधिमा प्राप्त राजनीतिक उपलब्धि, सामाजिक–आर्थिक रुपान्तरणका प्रयत्नबारे विस्तृत रुपमा जानकारी गराएका छन्।

नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६३औँ वार्षिकोत्सवको सन्दर्भमा भएको आफ्नो रसिया भ्रमणले दुई देशबीच विद्यमान राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उनको विश्वास छ। नेपाल र रुसी महासंघबीच व्यापार–वाणिज्यका क्षेत्रमा उल्लेख्य साझेदारी हुन नसकेको यथार्थ औँल्याउँदै मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध लगानीका अवसरको भरपूर उपयोग गर्न रुसी महासंघलाई आग्रह समेत गरे।

उनले भने,“दुवै देशका सरकार, निजी क्षेत्र, विद्वत् वर्ग, सबै तह र तप्काका जनताले व्यापार, लगानी र पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा अर्थपूर्ण साझेदारीका निम्ति अब विलम्ब नगरौँ ।” मन्त्री ज्ञवालीले कृषि, पर्यटन, खनिज पदार्थ उत्खनन, भौतिक पूर्वाधार निर्माण र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी गर्न सकिने र त्यसमा उच्च प्रतिफल प्राप्त हुने जानकारी दिए । जलस्रोतका क्षेत्रमा गरिने लगानीले अझ उच्च प्रतिफल दिने भएकाले ढुक्क भएर लगानी गर्न समेत मन्त्री ज्ञवालीले आग्रह गरे।

नेपालमा उत्पादित ऊर्जा बिक्रीका निम्ति बजारको समस्या नभएको पनि उहाँले स्पष्ट पार्दै उनले लगानी र व्यवसायको वातावरण बनाउन नेपाल सरकारले नीतिगत एवं संरचनागत सुधार गरेको, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, विशेष आर्थिक क्षेत्र, एकद्वार सेवा प्रवाह प्रणाली कार्यान्वयनमा ल्याएको बताए।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा रुसी महासंघका मित्रहरुबाट हुने नेपाल भ्रमणले नेपाल भ्रमण वर्षको हाम्रो अभियानमा टेवा पुग्ने बताउँदै परराष्ट्रमन्त्रीले आकर्षक प्रतिफल प्रदान गर्ने पर्यटकीय पूर्वाधारमा रसियाली लगानी प्रवाह भएमा नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्ने बताएका छन्।

नेपाल भ्रमण वर्षलाई सफल पार्न मस्कोस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठन, द्विदेशीय उद्योग–वाणिज्य तथा मैत्री संघसंस्थाहरुसँग निकट सम्पर्कमा रहेर काम गर्ने बताउँदै उनले अनुकूल रुपमा सन् २०२० मा नेपालको भ्रमण गर्न कार्यक्रममा उपस्थित सबै रुसी नागरिकलाई निमन्त्रणा पनि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *