पूर्वप्रेमिकाको अश्लील भिडियो उनकै परिवारलाई पठाउने नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ

डिसी नेपाल
१२ मंसिर २०७६ ११:३४

काठमाडौं। अस्ट्रेलियाको एडिलेडमा विद्यार्थी भिसामा बसिरहेका एक नेपाली युवकलाई अस्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नी पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडियो उनका परिवारलाई पठाएको आरोपमा पक्राउ गरिएको हो । यो अस्ट्रेलियाको इतिहासकै पहिलो ‘सेक्सटोर्सन’ केस भएको डेलिमेलको समाचारमा उल्लेख छ

२५ वर्षका यी युवालाई उनको निवासबाटै बुधबार पक्राउ गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ । बिहीबार उनलाई एडिलेड मनिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । कानुनी कारणले उनको पहिचान खुलाइएको छैन । सरकारी वकिलले उनलाई कुनै प्रकारको जमानत दिन नहुने दावी गरेका थिए र अदालतले उनलाई पुलिस हिरासतमै राख्न आदेश दिएको छ । उनको अर्को सुनुवाइ अर्को महिना हुनेछ ।

पुलिसका अनुसार ती तस्वीर र भिडियो दुवैको सहमतिमै खिचिएका थिए तर पछि सम्बन्ध बिग्रिएपछि उनले ती तस्वीर र भिडियो महिलाका परिवारलाई पठाउने र सामाजिक संजालमा पोस्ट गर्ने धम्की दिन थालेका थिए । अस्ट्रेलियाको संघीय पुलिसमा एसपी गेल म्याकल्युरका अनुसार ती युवकले पीडित युवतीलाई आफू अस्ट्रेलियाको नागरिक नभएको र युवती अर्कै देशमा बस्ने भएकोले अस्ट्रेलियाको पुलिसले आफूविरुद्ध मुद्दा चलाउन नसक्ने बताएका थिए ।

पुलिसलाई देशबाहिरकै एक एजेन्सीले घटनाबारे जानकारी दिएपछि पुलिसले यस विषयमा अनुसन्धान सुरु गरी उनलाई पक्राउ गरेको थियो । कुन एजेन्सीले सूचना दियो भन्ने विषयमा भने पुलिसले कुनै जानकारी दिन नमिल्ने जनाएको छ । एसपी म्याकल्युरका अनुसार आरोपीको मुख्य उद्देश्य बदला लिनु देखिएपनि पूरै फरेन्सिक जाँचअघि यकिनका साथ केही भन्न सकिने अवस्था छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *