स्काउटले देशप्रेमको भावना बढाउँछ : प्रदेश प्रमुख अधिकारी

डिसी नेपाल
१३ मंसिर २०७६ २१:४३

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताएका छन् ।

‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्काउट फ्रेन्डशिप क्याम्प–२०७६ को उद्घाटन गर्दै उनले यसले युवाको क्षमता वृद्धि, धैर्यता र चरित्र निर्माण गर्न ठूलो योगदान पुर्‍याएको धारणा व्यक्त गरे । राष्ट्रको संविधान, विधिविधान अँगालेको यो संस्थाले सुख, दुःख र विपद्हरुमा समाजलाई ठूलो सहयोग पुर्‍याएको उनले बताए ।

प्रदेश प्रमुख अधिकारीले स्काउट अटल र अडिग संस्था भएको हो भन्दै यसको सदस्य हुनु गौरवको कुरा हो भने । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राष्ट्र निर्माण र जीवनोपयोगी सीप विद्यार्थीहरुलाई प्रदान गरिने बताए ।

प्रदेशसभा सदस्यहरु केदार कार्की, जयराम यादव, लीलावल्लभ अधिकारी, सावित्री रेग्मी र यशोदा अधिकारीले युवाहरुलाई स्वावलम्बन, अनुशासित, सदाचारी, समाजप्रेमी बनाई समाज र देश विकासको योगदानमा सफलता प्राप्त गरेको धारणा राखे ।

जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदीपकुमार विश्वास, क्याम्पसका संयोजक डा. उद्धव पोखरेल, प्याब्सन केन्द्रीय महासचिव राजेशकुमार दासलगायतले क्याम्पमा सहभागी युवायुवतीमा रहेको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

क्याम्पमा ३५ सामुदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीको सहभागिता रहेको छ । सो अवसरमा स्काउटमा आबद्ध विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *