प्रधानमन्त्री ओली बालुवाटार फर्किए, अझै आराम गर्न चिकित्सकको सुझाव

डिसी नेपाल
१९ मंसिर २०७६ १६:१३

काठमाडौं। १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी ओली बिहीबार डिस्चार्ज भएर प्रधानमन्त्री निवास वालुवाटार फर्किएका छन्।

एपेन्डिसाइटिसको अप्रेशन पछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओली सघन उपचार कक्षमा राखिएका थिए। १० दिनपछि स्वास्थ्य लाभ गरी उनी वालुवाटार फर्किएका हुन्। उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको मनमोहन सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तम कुमार श्रेष्ठले डिस्चार्जपछि जारी प्रेस विज्ञप्तिमा जनाएका छन्।

श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको तर, अझै आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएका छन्।

अस्पतालमा रहँदा ओलीको मिर्गौलाको डायलसिस गरिए पनि सो विषयमा भने केही खुलाइएको छैन। मिर्गौलाले काम नगरेपछि नियमित डायलसिसमा रहेका प्रधानमन्त्री ओलीमा अघिल्लो मंगलबार एपेन्डाइटिक्सको समस्या देखिएको थियो। त्यसपछि मनमोहन सेन्टरमा एपेन्डाइटिक्सको अप्रेशन भएको थियो। अप्रेशन जटिल भएकाले संक्रमण हुने जोखिम रहेको भन्दै सघन कक्षमा राखिएको थियो। प्रधानमन्त्री ओलीको अभुतपूर्व आत्मविश्वासका कारण उनको स्वास्थ्य छिटै सुधार भएको हो।

अब प्रधानमन्त्रीको मिर्गौलाको उपचारबारे निर्णय लिइने बालुवाटार स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *