बेलायतमा ब्यारेष्टर बनिन् नेपाली मुलकी चेली स्नेहा शाक्य

डिसी नेपाल
२० मंसिर २०७६ १२:४०

लण्डन । बेलायतमा नेपाली मुलकी स्नेहा शाक्य श्रेष्ठ दोश्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर बन्न सफल भएकी छन् । श्रेष्ठ ब्यारेष्टर बन्नका लागि हालैमात्र बेलायतको इनर टेम्पल बारको सदस्य भएकी हुन् ।

बेलायतको सिटी कलेजबाट यही वर्ष बार प्रोफेसनल ट्रेनिङ कोर्स ( बिपीटिसी)  मा उच्च ९८० प्रतिशत बढी अंक प्राप्त गरेर ब्यारेष्टर बन्न अन्तिम तयारी पुपिलेज गर्न योग्य भएकी हुन् । शाक्य केही समयपछि अन्य कानुनी फर्ममा कामको अनुभव प्राप्त गरेपछि उन प्राक्टिसिङ्ग ब्यारेष्टर बन्नेछिन् ।

यसअघि प्रोफेसर डाक्टर सूर्य सुवेदी, क्युसी तथा देवेन्द्र श्रेष्ठ बेलायतमा ब्यारेष्टरको रुपमा कार्यरत छन् भने शाक्य दोश्रो पुस्ताकी पहिलो नेपाली ब्यारेष्टर बन्न सफल भएकी हुन् ।

दुई दशक देखि बाबुआमासँग बेलायतमा बस्दै आएकी स्नेहा सिन्धुपाल्चोक चौतारा घर भएका अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ र मिनु शाक्यकी छोरी हुन् । दुई कक्षा सम्मको शिक्षा नेपालमै हासिल गरेपश्चात उनी बाबुआमासँगै बेलायत आएकी थिइन् ।

विद्यालय शिक्षा वर्दिग र स्लाओ ग्रामर तथा उच्च शिक्षा युनिभर्सिटी अफ एसेक्सबाट एलएलबि, किंग्स कलेजबाट एलएलएम उतिर्ण गरेकी स्नेहा लण्डनस्थित प्रसिद्ध किंग्स कलेजको एलएलएमको शोधका निम्ति नेपालमा युद्धबन्दीलाई यातना दिएको आरोपमा निकै चर्चा पाएका कर्णेल कुमार लामाको विषयमा अनुसन्धान गर्न लामो समय नेपालका विभिन्न स्थानमा गएर सरोकारवाला र विज्ञहरूसँग कुराकानी गरेकी थिइन् ।

सानै उमेर देखिनै संगीतमा रुचि भएकी स्नेहाले डरिग्टन हाइ स्कुल एक्स फ्याक्टरमा पहिलो स्थान, सन् २००८ मा लण्डनमा आयोजना भएको भ्वाइस अफ द एर नेपालमा पहिलो, युकेको एक्स फ्याक्टर लगायत दर्जनौँ नेपाली, अङ्ग्रेजी तथा भारतीय सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो प्रतिभा देखाउदै आएकी छिन्। उनले संगीतकार अनिल शाही र न्ह्यु बज्राचार्यसँग चार वटा गीतहरू रेकर्ड गराएकी छिन् । भविष्यमा पनि पेशाका साथसाथै रुचिको रुपमा गायनलाई पनि अगाडि बढाउने उनले बताइन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *