हनुमन्ते नदीमा फोहर थुपार्न कमी भएन

डिसी नेपाल
२१ मंसिर २०७६ २०:४९

भक्तपुर । हनुमन्ते नदी सरसफाइ अभियानको ९३ औंँ हप्ता शनिबार कौशलटार र बालकोट जोड्ने बालकोट पुल तथा आसपास क्षेत्रमा सरसफाइ गरिएको छ । हनुमन्ते सफाइ अभियान शुरु गरेकै ठाउँमा आजसम्म चौथो पटक सफाइ गर्दा पनि फोहोर थुपार्ने काममा कमी भने देखिएन ।

स्थानीयवासीको लापर्वाही र स्थानीय तहले आवश्यक कारवाही नगर्दा अभियानकर्मी सफाइ गरिरहने र फोहोर फाल्नेहरु फालिरहने अवस्था आएको हनुमन्ते सफाइ अभियानकर्मी रुद्र पौडेल बताउँछन् ।

नागरिकमा जनचेतना अभिवृद्धि गर्ने र नदी र खुला ठाउँमा कतै पनि फोहोर नफाली व्यवस्थित गर्न प्रेरणा मिल्ने उद्देश्यले सांसद महेश बस्नेतको अगुवाइमा भएको अभियानको ९३ हप्ता पुग्दा पनि चेतनशील व्यक्तिबाटै नदी र आसपासका क्षेत्रमा पटक पटक फोहोर फाल्नु निन्दनीय भएको उनले बताए ।

सफाइ अभियानकै नरेश रञ्जितले हेपाहा प्रवृत्ति र कारवाही नहुँदा समस्या आएको बताउँदै फोहोर फाल्नेलाई स्थानीयवासीले समातेर प्रहरीलाई बुझाइदिनुपर्नेमा त्यसो हुन नसक्दा नदी फोहर गर्नेहरुको मनोबल बढेको भनाइ राखे । आजको सफाइ अभियानमा चार टन फोहोर सङ्कलन भएको छ । अभियानमा नेपाली सेनाको वीरदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधिको अभियानमा सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *