पुरुष ह्याण्डबलः भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो स्वर्ण

डिसी नेपाल
२२ मंसिर २०७६ २२:००

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले स्वर्ण पदक हात पारेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

बङ्गलादेशमा भएको ११औँ सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२औँ सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गरे ।

भारतका नवीन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दीपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थपे ।

श्रीलङ्कालाई कास्य

१३औँ साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबल तर्फ श्रीलङ्काले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा भएको पुरुष ह्याण्डबलतर्फको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बङ्गलादेशमाथि २६–२३ गोलको नतिजा निकाल्दै कास्य पदक जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा खेलको ६ मिनेटमा नवरथ्ना मुदियान्सेलागेले श्रीलङ्काको लागि गोलको खाता खोलेको थिए । बङ्गलादेशका लागि भने ताजु हसनले खेलको आठौँ मिनेटमा खाता खेलेका थिए ।

शुरुदेखि नै अग्रता बनाएको श्रीलङ्काले पहिलो हाफमा १२–११ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा श्रीलङ्काले १४ गोल थप्न सफल बन्यो । त्यस्तै, बङ्गलादेशले १२ गोल थप्न सफल रह्यो । श्रीलङ्काको तर्फबाट नवरथ्ना मुदियान्सेलागे र प्रभात माडुसले सर्वाधिक ५÷५ गोल गरे । बङ्गलादेशको तर्फबाट भने अवाल रुबोलले सर्वाधिक ५ गोलको योगदान गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *