भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेकोमा प्रवासी नेपाली एकता समाजको आपत्ति

डिसी नेपाल
२७ मंसिर २०७६ २२:४६

वाशिङ्टन। हालै भारतले जारी गरेको विवादित नक्सामा नेपालको भूमिसमेत समावेस गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज, अमेरिकाले विरोध जनाएको छ।

संगठनका अध्यक्ष राजेन्द्र शेरचनले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सम्प्रभुतामाथि बाह्य देशबाट भएको अतिक्रमणले प्रवासमा रहेका नेपालीहरु दुःखी भएको भन्दै नेपालले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

उनले सत्तारुढ दलका नेताहरुले यो विषयलाई अन्तर्राष्ट्रिकरण गर्न नहुने भनेकोमासमेत आपत्ति जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘परचक्रिहरुले दिनदाहाडै देशको अस्मितामाथि धावा बोलिरहँदा पनि, खासगरी नेपालको पछिल्लो कम्युनिष्ट सरकारले आँखा चिम्लिदै यस्तो जघन्य विषयलाई अन्तर्राष्ट्रियकरण समेत गर्न नहुने भनेर सत्तापक्षका केही व्यक्तिहरुको भनाई समेत मिडियामा आइरहेको परिप्रेक्ष्यमा यसमा कतै वर्तमान सरकारको मौन समर्थन त छैन भन्ने आशंका पनि उब्जाएको छ।’

समाजले नेपाल सरकारले यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरे पनि आफुहरुले अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत दिएको छ। साथै विश्वभर छरिएर रहेका नेपालीहरुले यो विषयको विरोध गर्नुपर्नेसमेत समाजको जोड छ।

समाजले आगामी आइतबार अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा नर्थ अमेरिकन डायस्पोराले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन राप्रपा निकटका सबै संघ, संगठन, नेता कार्यकर्ता, शुभेच्छुकलाई अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *