भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच सम्झौता

डिसी नेपाल
४ पुष २०७६ १८:२७

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियरूपमा प्रभावकारी प्रवद्र्धनका लागि टर्किस एयरलाइन्सँग सहकार्य गर्ने भएको छ । नेपालमा युरोपलगायत मुलुकबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सचिवालयले अन्तर्राष्ट्रिय हवाई ‘कनेक्सन’मा ठूलो योगदान पुर्याउँदै आएको टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका देशीय निर्देशक अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे सम्झौता भएको छ । सो अवसरमा संयोजक वैद्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि हवाई सम्पर्क सञ्जालको ठूलो भूमिका हुने बताउँदै नेपाल उडानमा केही महँगो भए पनि टर्किस एयरलाइन्सले निरन्तर हवाई उडान गरेर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिरहेको उल्लेख गरे ।

उनले नेपालमा पर्यटकीय पूर्वाधारका रूपमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि तीव्र गतिमा निर्माण भइरहेकाले नेपाल उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई अझ सहज हुने विश्वास व्यक्त गरे ।

एयरलाइन्सका देशीय निर्देशक केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको बताए । उनले आगामी दिनमा पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तव्यमार्फत पनि प्रचारप्रसार गर्ने जानकारी दिए । नेपाल भ्रमणमा आउने युरोप र अमेरिकाका पर्यटकलाई टर्कीस एयरलाइन्सले ठूलो सहयोग गर्दै आइरहेको छ ।

सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रूपमा टर्कीस एयरलाइन्स रहने तथा संयुक्त अधिराज्य (बेलायत), युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गरिनेछ । त्यसैगरी अमेरिका तथा युरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्तरूपमा प्रचार प्रसार गर्ने, विदेशी पत्रकारहरुलाई नेपाल भ्रमण वर्षको समाचार सङ्कलन गर्न आउने निश्चित पत्रकारहरुका लागि हवाई भाडा व्यहोरिदिने जस्ता सम्झौताहरु भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *