सत्ता र प्रतिपक्षको मूल मुद्दा विकास : मन्त्री रावल

डिसी नेपाल
८ पुष २०७६ २१:२२

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णालीमा सत्तापक्ष र प्रतिपक्षको मूल मुद्दा विकास भएको बताए । सञ्चार क्लब सुर्खेतद्वारा मंगलबार आयोजित बहस कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री रावलले कर्णाली विकासमा कुनैपनि दल, पक्ष विपक्ष भएर नउभिएको बताए ।

चालू आवको चौमासिक प्रगति प्रदेश सरकारको कमजोर भए पनि दोस्रो चौमासिकमा विकास योजनाको प्रभावकारी कार्यान्वयनबाट ४५ प्रतिशत खर्च देखाउने उनले जनाए। “यो वर्ष हामीले सङ्गठन तथा व्यवस्था सर्भे गरी यो प्रदेशमा २ हजार ५ सय ५५ कर्मचारीसहित १ सय ५९ संरचना स्थापना गरेका छौँ,” मन्त्री रावलले भने, “यस कार्यले पहिलो चौमासिकमा खर्च प्रगति नदेखिएको हो ।” अब सरकार विकास योजनाका कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्वाध लाग्ने उनको भनाइ थियो ।

उनले अगाडि भने, “सरकाले बजेट खर्च गर्न सकेन भनेर बाहिर हल्ला गरिएजस्तो होइन । खर्च गर्नका लागि सरकारले बजेट खर्च गर्दैन । जनताले नतिजा देख्ने गरी हामीले विभिन्न योजना निर्माण गरेका छौँ । पूर्वाधारका धेरै योजनाको बोलपत्र आह्वान भएर अघि बढेका छन् । जिल्ला, पालिका जोड्ने सडकको काम पनि निरन्तर अगाडि बढेको छ ।”

बहसको क्रममा मन्त्री रावलले सरकारले हिल्सा जोड्ने गरी कर्णाली करिडोर, डोल्पाको धो मोरिम्ला जोडिने गरी भेरी करिडोर, १० जिल्लामा ५० श्ययाको अस्पताल, माउण्टेन इकोलोजी अध्ययनका लागि पर्वतीय विश्वविद्यालय, बहुप्राविधिक विद्यालय, सांकृतिक अध्ययन केन्द्र, दलित महिला लक्षित मुख्यमन्त्री रोजगार कार्यक्रम, कृषि पकेट क्षेत्र, आवधिक योजना, पर्यटन गुरुयोजना लगायतका कामलाई अगाडि बढाउने बताए।

आर्थिक अनियमिताका क्षेत्रमा हुने घटनाका विषयमा पत्रकारलाई खबरदारी गर्न अनुरोध गर्दै उनले प्रतिपक्षको प्रश्न नउठ्ने गरी सरकारले काम गरेको दाबी गर्नुभयो । तीन श्ययाको प्रदेश अस्पताल फागुनमा उद्घाटन गर्ने उनको भनाइ थियो ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भएकाले सरकारलाई मार्ग बाहिर हुन नदिएको जनाए । “विकासका निर्माणमा प्रतिपक्ष कहिल्यै बाधक बन्दैन,” अध्यक्ष श्रेष्ठले भने, “प्रतिपक्षको काम भनेकै सरकारलाई गतिशील र जनमुखी बनाउने हो ।”

राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्य सुशीला शाहीले विकास निर्माणका काममा सरकार साझा भएर अघि हिँड्नुपर्नेमा जोड दिए । राप्रपालाई हेपाहा दृष्टिबाट हेरिएको भन्दै आगामी दिनमा त्यस्तो व्यवहार नगर्न पनि सदस्य शाहीले आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *