भ्रमण वर्ष शुभारम्भको पूर्वसन्ध्यामा ४ देशका पर्यटनमन्त्री काठमाडौंमा

डिसी नेपाल
१५ पुष २०७६ १९:०२

काठमाडौं। बुधबार अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष शुरु हुँदा नेपालमा भने भ्रमण वर्ष २०२० शुरु हुँदैछ। काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहकाबीच भ्रमण वर्ष २०२० राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्दैछिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार नै पत्रकार सम्मेलन गरेर भ्रमण वर्ष शुभारम्भको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराइसकेका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्री हुने अवसर पाएका भट्टराईले कार्यभार सम्हाल्दै गर्दा ४० देशका पर्यटनमन्त्रीहरुलाई जनवरी १ मा काठमाडौमा स्वागत गरिने बताएका थिए।

तर, मंगलबार बेलुकासम्म जम्मा ४ देशका पर्यटनमन्त्रीमात्र नेपाल आएका छन्। पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामांगले मंगलबार बेलुकासम्म ४ देशका पर्यटनमन्त्री आएको जानकारी दिए। उनका अनुसार भारत, चीन, म्यानमार र जमैकाका पर्यटनमन्त्री काठमाडौैं पुगेका छन्।

चीनका संस्कृति तथा पर्यटनमन्त्री वङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रलाहद सिंह पटेल, म्यानमारका होटल तथा पर्यटनमन्त्री ओहन मुंग र जमैकाका पर्यटनमन्त्री एडमुन्ड बार्टलेट् नेपाल आएका हुन्। प्रवक्ता तामांगले भ्रमण वर्ष शुभारम्भ समारोहमा ३० जना विदेशी पाहुना सहभाागी हुने जानकारी दिए। अन्य पाहुनाहरु पर्यटनसँग सम्बन्धित विदेशी सरकारी र निजी क्षेत्रका व्यक्तिहरु रहेको उनले बताए।

मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार मन्त्रालयका सचिव केदाबहादुर अधिकारी मंगलबार दिनै भरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थिए । उनले निमन्त्रणा दिएका देशहरुबाट आएका पाहुनालाई न्यानो स्वागत गरिरहेका थिए। विदेशी पर्यटनमन्त्रीहरुलाई पर्यटनमन्त्री योगेश भट्टराईले होटल सोल्टीमा स्वागत गरेका थिए। मंगलबार राति नै होटल द्वारिकामा पर्यटनमन्त्री सामेल हुने रात्रि भोजको समेत आयोजना गरिएको आचार्यले डिसीनेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *