भ्रमण वर्ष सफल पार्न मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा

डिसी नेपाल
१६ पुष २०७६ १८:४९

फिदिम । बुधबारदेखि शुरु भएको नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न पाँचथरदेखि पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा मोटरसाइकल यात्रा शुरु गरिएको छ । यहाँका विभिन्न क्षेत्रमा आबद्ध ११ जना युवाको संलग्नतामा मोटरसाइकल यात्रा शुरु भएको हो ।

आज पाँचथरको सदरमुकाम फिदिमबाट शुरु भएको मोटरसाइकल यात्रा मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु बैतडीको झुलाघाटमा पुगेर सम्पन्न हुनेछ । ‘नेपाल यात्रा २०७६’को टोली आज मध्यपहाडी लोकमार्गको शुरु विन्दू पाँचथरकै चिवाभञ्ज्याङमा पुग्नेछ । बिहीबार पुनः फिदिम हुँदै उक्त टोली यहाँबाट तेह्रथुम हुँदै पश्चिमतर्फ लाग्नेछ ।

उक्त टोलीका अगुवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मध्यपहाडी लोकमार्गको मोटरसाइकल यात्रा शुरु गरिएको जानकारी दिए । मध्यपहाडी लोकमार्गले छुने २३ वटा पहाडी जिल्लाका करिब २ सय १५ बस्तीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायत समग्र पक्षको प्रचार गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको अगुवा नेम्वाङले बताए ।

यस्तै, निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माणको हालसम्मको अवस्था उजागर गर्ने तथा यस सडकले ल्याएको परिवर्तनको अध्ययन गर्ने उक्त टोलीको लक्ष्य छ । यसैगरी भ्रमणका क्रममा प्रदेश नं १ का पर्यटकीयस्थलहरुको प्रचार गर्दै प्रदेश नं १ को भ्रमणको निम्तो दिने, मध्यपहाडी जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार–प्रसार र सञ्चारमाध्यमबाट प्रकाशमा ल्याउन सहयोग गरिने भ्रमण टोलीमा रहेका पत्रकार गिरिराज बाँस्कोटाले बताए ।

भ्रमण टोलीले हरेक जिल्लाका सदरमुकाम तथा स्थानीय तहका केन्द्रहरुमा स्थानीय सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरेको छ । उक्त टोली नेकपाका प्रदेश कमिटी सदस्य नेम्वाङसहित पत्रकारहरु गिरिराज बाँस्कोटा, छवि चापागाईं र दीपक बोहोरा तथा युवा नेताहरु दीपक दुलाल, जलकुमार तामाङ, सुमन लामा, धनकुमार लावती, पवीन माखिम, रुपेन्द्र घिसिङ र तुलाराम रिमाल रहेका छन् ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पाँचथरबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । यस लोकमार्गको कूल लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । छवटा मोटरसाइकलमा हुने यो यात्रा नेपालकै पहिलो भएको भ्रमण टोलीको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *