पर्यटकको आकर्षक गन्तव्य कर्णाली : मुख्यमन्त्री शाही

डिसी नेपाल
१६ पुष २०७६ २२:१३

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकहरुको आकर्षक गन्तव्य कर्णाली भएको बताएका छन् । ‘यसपालि घुमौँ कर्णाली’ मूल नारासहित कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल भएकाले पर्यटकका लागि आकर्षक गन्तव्य भएको दाबी गरे।

उनले भने, “कर्णाली सांस्कृतिक, प्राकृतिक, धार्मिक र पुरातात्विक दृष्टिले सम्पन्न छ, मात्र पूर्वाधारको कमी हो । यसको अभाव पूरा गर्न सबै सरकार लाग्नुपर्छ ।” नेपालको लामो नदी कर्णाली, ठूलो ताल रारा, उच्च स्थानमा फल्ने कालीमार्सी धानसहित रैथाने कृषिबाली, महँगो जडीबुटी यार्सा, अग्ला हिमाल, तालतलैयाहरु प्राकृतिक पर्यटनका मुख्य आकर्षण भएको बताउँदै उनले अगाडि भने, “कर्णालीमा पर्यटक आकर्षणका लागि सरकारका साथै निजी क्षेत्रको योगदान आवश्यक छ । पाहुनाहरु आउने वातावरण तयार गर्न सकिए विश्वका मान्छेहरु यहाँ आउँछन् ।”

अब सडक, राम्रो होटल, खानालगायतका कुराको उपयुक्त व्यवस्थापन गरेर विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली बनाउने अभियानमा अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार अतिथि देवो भवः संस्कृतिको संस्थागत गर्दै पर्यटनमा जोड दिन सकिएमात्र आर्थिक समृद्धिमा मुलुकलाई टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पर्यटन क्षेत्रलाई बहुआयामिक बनाउँदै लैजानुपर्नेमा जोड दिए । सम्पन्नता प्राप्तिका लागि तीनै तहका सरकारको लक्ष्य ठोस हुनुपर्ने भन्दै नेपाल तथा कर्णाली सरकारको ‘भ्रमण वर्ष सन् २०२०’ को सफलताको कामना समेत गरेका थिए।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णालीको पर्यटकीय गुरुयोजनाले सरकारले लिएको लक्ष्य, कार्य तथा रणनीतिक योजना पूरा हुने बताए । सरकारले संरचना तयार गरेर पर्यटकहरु आउने वातावरण बनाउने भन्दै पर्यटनमन्त्री बुढाले बहुसङ्ख्यक पर्यटकहरुको आकर्षण बढाउन निजी क्षेत्रको पनि ठूलो भूमिका रहने जिकिर गरे ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय भूमि भएको बताए । पर्यटकहरुको आवागमन बढाउने लक्ष्य राखेर स्थानीय सरकारहरुले पनि पर्यटकीय गतिविधि सञ्चालन गर्ने हेतुले भर्खरै कर्णाली प्रदेश समन्वय परिषद्को बैठकमा निर्णय भएको उनको भनाइ थियो ।

आजको शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जाति, भाषा, धर्म, संस्कृति, कला, साहित्य र संस्कृतिसँग सम्बन्धित देउडा, सोरठी, झ्याउरे, पैसेरी, सिंगारु, थारू, गर्रा, राउटे, हुड्केलगायत नृत्यहरु देखाइएको थियो ।

उक्त कार्यक्रममा भेरी सामुदायिक वन, इसाई समाज सुर्खेत, कर्णाली देउडा समाज, होटल व्यवसायी संघ, लोपोन्मुख, राउटे, कुसुण्डा, राजी, माझी, गुरुङ, मगर, थारू, जातिले आफ्ना झाँकी प्रदर्शन गरेका थिए ।

त्यस्तै, युवा, खेलाडी, उद्योग तथा होटल व्यवसायी, बालबालिका, ज्येष्ठ नागरिक, किसान, अपाङ्गता भएका व्यक्ति, विभिन्न क्षेत्रमा कार्यरत पत्रकार सञ्चारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा करिब १२ हजार नागरिकको सहभागी भएको आयोजक कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *