अष्ट्रेलियन प्रहरीको पत्र लुकाएर पर्यटनमन्त्रीलाई कसले पार्‍यो विवादमा?

डिसी नेपाल
२४ पुष २०७६ १९:५०

काठमाडौं। गएको मंगलबार अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको नेतृत्वमा आयोजना गरिएको मुल  कार्यक्रम सकेर निकालिएको र्‍याली सिड्नी प्रहरीले रोक्यो।

सिड्नीको जुन स्थानमा सो र्‍याली निकाल्ने अन्तिम तयारी थियो, त्यसका लागि नेपालले अनुमति नै लिएको थिएन। यसरी अनुमति नलिएर सडकै जाम हुने गरेर र्‍याली निकालिएपछि अष्ट्रेलियन प्रहरीले कार्यक्रम रोक्दा पर्यटनमन्त्रीको अष्ट्रेलिया भ्रमण नै विवादित बनेको छ।

यसरी मन्त्री र देशकै बेज्जत हुने गरी भएको यो घटनामा नेपाली अधिकारीकै कमजोरी रहेको पुष्टि भएको छ। डिसी नेपालले प्राप्त गरेको अष्ट्रेलियन प्रहरीको एक इमेलले नेपाली अधिकारीको कमजोरी छताछुल्ल पारेको हो।

सो कार्यक्रम हुनुअघि नै अष्ट्रेलियन प्रहरीले नेपाली पक्षलाई पत्र लेखेर ती स्थानहरुमा र्‍यालीका लागि अनुमति दिन नसकिएको र केही स्थानहरु र्‍यालीका लागि सुझाएको थियो।

सिड्नीमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन कार्यक्रमका लागि व्यवस्थापन गर्ने जिम्मेवारी न्यू साउथ वेल्सका लागि नेपाली महावाणिज्य दूत दीपक खड्काले लिएको स्रोतले जनायो। स्रोतका अनुसार अष्ट्रेलियन प्रहरीले खड्कालाई इमेलमाफर्त पत्र लेखेर सिड्नीको ओपेरा हाउसलगायतका स्थानमा र्यालीका लागि अनुमति दिन नसक्ने जनाएको थियो।

तर, महाणिज्य दूत खड्काले अष्ट्रेलियन प्रहरीको इमेलको वास्ता नगर्दा यो घटना भएको दावी छ।

आफु विवादमा आएपछि पर्यटनमन्त्री भट्टराईले सोही दिन फेसबुकमा लामो स्टाटस लेखेर नेपाली सञ्चार माध्यमहरुले देशको बेज्जत गरेको बताएका थिए। उनले कार्यक्रम भव्य रुपमा भएकोसमेत दावी गरेका थिए। तर, मुल कार्यक्रम सकेर र्यालीलाई अपेरा हाउसतिर मोडिएपछि त्यहाँसम्म साथै रहेका न्यू साउथ वेल्सका सभामुख प्रहरीले र्‍याली रोकेपछि भने कार्यक्रमबाट हिँडेको बताइएको छ।

र्‍याली रोक्दै अष्ट्रेलियन प्रहरी र प्रहरीसँग कुरा गर्दै महावाणिज्य दूत दीपक खड्का।

तर, जब उनले त्यहाँका नेपाली व्यवस्थापकको कमजोरी थाहा पाए, उनले नेपाली अधिकारीहरुसँग छलफल गरेको स्रोतले बताएको छ। सो घटना हुँदा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, महावाणिज्य दूत खड्का र केही नेपाली रहेको बताइएको छ।

नेपाली अधिकारीहरुसको छलफलमा यस्तो प्राविधि विषयबारे आफुलाई जानकारी नदिएर विवादमा तानिएको भन्दै कमजोरी गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको स्रोतले बतायो। उनले बैठकमा भनेका थिए, ‘यो कसको कमजोरी हो, कसैलाई छोडिन्न।’

यता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि यो विषयमा चासो राखेको बताइएको छ। उनले नेपाली राजदूत दाहालसँग यो घटनाबारे जानकारी मागेको स्रोतले बतायो।

स्रोतका अनुसार महाणिज्य दूत खड्काले सिड्नीको कार्यक्रमको सम्पूर्ण जिम्मेवारी लिँदै केही स्वयम सेवक पनि परिचालन गरेका थिए। उनले परिचालन गरेका स्वयम सेवक अल्लारे रहेको र उनीहरुले जे भन्यो त्यहि मान्ने वस्थामा पर्यटन मन्त्री रहेकोले पनि सो दिनको कार्यक्रम विवादित बनेको बताइन्छ।

त्यसो त आगलागी कारण संकटमा रहेको अष्ट्रेलियामा पर्यटनमन्त्रीले अष्ट्रेलियन नागरिकलाई समवेदना दिनुको साटो विदा मनाउन नेपाल भ्रमणको निम्तो दिएको भन्दै मन्त्री भट्टराईको अष्ट्रेलिया भ्रमण नै विवादित बनेको छ।

अष्ट्रेलियन प्रहरीले इमेलमाफर्त पठाएको पत्रको मुख्य बुंदाहरु-

तपाईँको कार्यक्रम प्रचारक तथा व्यवसायिक लाभको लागि छ, जुन कानुनसम्बत छैन।

मानिसको संख्या धेरै रहेको छ, जसले पुरै फुटपाथ ओगट्ने भएकोले पैदल यात्रीलाई असर गर्दैछ।

तपाईँको जुलसका लागि हामी आफ्नो सडक बन्द गर्ने अनुमति दिन सक्दैनौँ। तपाईँका सबै सदस्यका लागि फुटपाथ कुनै पनि जग्गा हुँदैन।

यदी तपाईँ आफ्नो कार्यक्रम अगाडि बढाउन चाहनुहन्छ भने हामी केही ठाउँहरुको सुझाव दिनेछौंः
कस्टुम्स हाउस अफ फरकोर्ट (सर्कुलर रेलवे स्टेशनको अगाडि)। मैले सिटी अफ सिड्नी काउन्सिलमा कुरा गरेको छ र यहाँ खाली ठाउँ उपलब्ध रहेको छ।

तारपयिन लन, रोयल बोटानिकल गार्डेन। यो क्षेत्र सिड्नी ओपेरा हाउसले हेर्ने गर्छ र एसओएचले कुनै पनि सभाको अनुमति दिँदैन। यसका लागि तपाईँ स्वयंले रोयल बोटानिकल गार्डेनसँग सम्पर्क गर्नुपर्ने हुन्छ।

कृपया तपार्इँ के कुरामा चर्चा गर्न चाहनुहन्छ मलाई सिधै सम्पर्क गर्नुस्। ध्यान रहोस, यदि तपाईँ अझै पनि टाउन हलदेखि ओपेरा हाउसम्म प्रस्तावित पैदल मार्गमा अगाडि बढेमा अनाधिकृत मानिनेछ र अगाडि बढ्नबाट रोक्न सकिनेछ।

तपाई यसको सट्टा आफ्नो स्थिर सभाका लागि माथिका कुनै स्थान लिने निर्णय लिएमा मलाई बताउनुस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *