कर्णालीमा ‘माघीसँगै देउडाको रौनक’

डिसी नेपाल
१ माघ २०७६ २३:०३

सुर्खेत । हरेक वर्ष माघ १ गतेलाई थारुहरुले माघी र मगर समुदायले मकर सङ्क्रान्तिीका रुपमा मनाउँछन् । दुवै जातिले यसलाई आ–आफ्नो संस्कारको रुपमा विभिन्न गतिविधिका साथ विशेष महत्व दिएर मनाउने गर्दछन् । सोही अवसरमा बुधबार सुर्खेतवासी थारुहरुले वीरेन्द्रनगर नगरपालिका–९ को कालीमाटी, १० कुन्ती, नौवस्ता र नयाँ गाउँमा विभिन्न साँस्कृतिक झाँकी, नृत्यसहितका कार्यक्रम आयोजना गरे । माघी पर्वको अवसरमा मगर समुदायले नगरपालिकाका खजुरा, लाटीकोइली, इत्राममा विभिन्न साँस्कृतिक कार्यक्रम गरे ।

पुसको अन्तिम रातमा जाग्राम बसेर माघ १ गते नयाँ वर्षलाई स्वागतगरी आज विभिन्न साँस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न गरिएको थारु कार्यकारिणीसभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार थारु संस्कृति, सभ्यता र यसको इतिहासलाई जीवन्त बनाइ राख्न वर्सेनि साँस्कृतिक महोत्सवको आयोजना गरिन्छ ।

आजको माघीमा राजधानी सुर्खेतका विभिन्न ठाउँमा थारु तथा मगरका विभिन्न कार्यक्रम भइरहँदा खुलामञ्चमा भने कर्णालीको भाषा, संस्कृति र सभ्यतासँग जोडिएको देउडाको रौनक पनि त्यत्तिकै आकर्षक थियो । देउडा पारखी महिला पुरुष देउडामा जोडिएका थिए भने दर्शकहरुको भीड पनि खचाखच थियो ।

देउडामा एकातिर महिला, अर्कोतिर पुरुष लामबद्ध रहेर गोलाकारमा लागेको दृश्य निकै मनमोहक थियो । देउडाकर्मीले कर्णालीको इतिहास, वर्तमान नेपालको समसामयिक गतिविधिका विषयमा उठाएको सवालले दर्शकदीर्घालाई मोहित बनाएको थियो । देउडा खेलिरहकै क्रममा महिला देउडाकर्मी कालीकोटवासी बलु शाहीले सवाल उठाउँदै भने

भ्रष्टाचारले छालो हान्यो, उब्जियो बेथिति ।
व्यक्ति धनी, राज्य गरीब कस्तो आयो नीति ?
राज्यकोष सिध्याउने कन डाङनै त पडला ।
क्यागरी समाज हाम्रो सहि बाटो हँडला ?

त्यस्तै पुरुष देउडाकर्मी जुम्लाबासी मणिकुष्ण उपाध्यायले शाहीको सवालको जवाफ दिँदै भनेः

बेइमानीले बेकार ग¥यो, समाजको नाम गयो ।
तिम्रो हाम्रो गलत सोचले झन् बेथिति भयो ।।
इमान, इज्जत खोला फाल्दा, बिग्रियो पिरती ।
जरैदेखि फाल्नुपर्छ, समाजका कुरिति ।।

सुर्खेतको खुलामञ्चमा गाइएका यस्तै खाले गीतले नेपाली समाजको वर्तमान अवस्थालाई चित्रण गरेको थियो । समाजमा भएको अनियमितता, भ्रष्टाचार, चोरी, लुटपाट, हिंसा, मानवअधिकार हनन्, राज्यप्रति नागरिकका अनुभूति र धारणा देउडाबाटै स्पष्ट गरिएका थिए ।

मुगुका महिलाले परम्परागत आफ्नै मौलिक शैलीको देउडा प्रस्तुत गरेका थिए । विभिन्न भाषा, लवज र शैलीमा गाइने देउडाले मानव जीवनको भाव, तर्क र अर्थ प्रदान गर्दै आएको देउडा पारखी लक्ष्मीप्रसाद उपाध्यायले बताए । स्थानीय मानबहादुर शाहीले देउडा विशेषगरी भाषा, संस्कृति, साहित्य, कला र सभ्यता संरक्षण गर्ने प्रमुख माध्यम बनेको तर्क गरे ।

यसको संरक्षण गर्न सकेमात्र नेपाल र नेपालीको अस्तित्व र स्वाभिमान रक्षा हुने शाहीको भनाइ थियो । संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य कर्णालीको इतिहास र मौलिकता बोकेको देउडा संस्कृतिको संरक्षणमा सरकार स्वयं लाग्नुपर्ने सुझाउछन् ।

कुनैपनि महिनामा प्रतियोगिता नहुने भए पनि सुर्खेतको खुलामञ्चमा दुई वर्षदेखि स्वतःस्फर्तमा कर्णालीको देउडा मेला लाग्ने गर्दछ । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव दिनजस्ता विभिन्न अवसरमा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोक गायनशैलीको देउडा गीत राजधानी सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते विशेष उत्सवका रुपमा सञ्चालन हुँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *