मान्छेलाई विस्थापित गर्ने मान्छेको आविष्कार ‘आर्टिफिसियल इन्टेलिजेन्स’

डिसी नेपाल
४ माघ २०७६ ८:४८

टेक्सस अमेरिका। कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स ‘कृत्रिम बुद्धिमत्ता’ अथवा एआई, जसलाई कम्प्युटर मेसिन इन्टेलिजेन्स (बुद्धिमत्ता) पनि भनिन्छ । यो मानवले प्रदर्शन गर्ने प्राकृतिक बुद्धिमता जस्तै कम्प्युटर मेसिनले प्रदर्शन गर्ने बुद्धिमत्ता हो अर्को शब्दमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्प्युटर विज्ञानको शाखा हो जसले मानबजस्तै कार्य गर्छ, सोचविचार गर्छ ,तर्क गर्छ , चित्रबाट अनुहार पहिचान गर्ने क्षमता राक्छ, मानब बोली बुझ्ने क्षमता राख्छ, चित्र बर्गीकरण , प्रश्न—उत्तर प्रणाली, वस्तु पहिचान गर्ने क्षमता राख्छ, आविष्कार गर्छ , समस्याको सामान्यीकरण गर्छ , जान्ने क्षमता राख्छ, भाषा प्रयोग गर्ने क्षमता , मौलिक विचारहरू बनाउने क्षमता र अनुभवबाट सिक्ने क्षमता राख्छ, समस्या समाधान गर्छ, मानवको भाषालाई बुझ्दछ अनि तेसैअनुसार जवाफ पनि दिन्छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) ले मेसिनहरूलाई अनुभवबाट सिक्न, र मानवजस्तो कार्यहरू गर्न सम्भव बनाउँछ । आर्टिफिसियल इन्टेलिजेन्स शब्दको सुरुवात १९५६ मा भए पनि एआई डाटा बृद्धि भोल्युम, उन्नत एल्गोरिदम र कम्प्युटर क्षमताको पावर र भण्डारणमा सुधारसंगै आज आर्टिफिसियल इन्टेलिजेन्स अधिक लोकप्रिय भएको छ । कृत्रिम न्यूरल नेटवर्क र कृत्रिम बुद्धिमत्ता टेक्नोलोजीहरू द्रुतरूपमा विकसित हुँदैछ किनकि एआईले ठूलोमात्रामा डाटा प्रशोधन गर्दछ र मानिसभन्दा बढी सटिकरुपमा भविष्यवाणीहरू गर्दछ । जस्तै— वाताबरणको भविष्यवाणी, आफै चल्ने कारहरुको निर्माण , कम्प्युटरमा खेलिने चेस गेम आदि ।

रोबोटिक्स र एआईको क्षेत्रमा हिजो आज धेरै विकास भएको छ । सबै रोबोटहरूमध्ये मानिसहरु जस्तै इच्छा र दर्शनको सरलता प्रदर्शन गर्ने धेरै रोबोटहरू बनाइएको छ जसलाई मानवसँग नजिकको समानता प्राप्त गर्ने मनसायले डिजाइन गरिएको हो । ओशन वन, एटलास, नाओ, पेटम्यान र शोफिया लगायत धरै मानब जस्ता रोबोट निर्माण भइसकेका छन् ।

रोबोट सोफिया

सोफिया २०१५ मा हान्सन रोबोटिक्सद्वारा विकसित एक बौद्धिक क्षमतायुक्त मानव निर्मित मेसिन मानव रोबोट हो। । उनी विश्वमा सबभन्दा उन्नत मानब रोबोट मध्ये एक हुन्, उनलाई २०१७ मा साउदी अरेबियाको नागरिकता दिइयो र उनी विश्वमै एकमात्र रोबोट नागरिक हुन् भनिन्छ । उनी पचासभन्दा बढी अनुहारको अभिव्यक्ति गर्न सक्षम छिन् र समान भावनाहरू व्यक्त गर्न सक्छिन् । उनीसँग धेरै अभिव्यक्तिहरूका आँखा छन् र उनको कृत्रिम बुद्धिमत्ता मानव मुल्य मान्यताका आधारमा निर्माण गरिएको छ । उनीसँग ठट्टाको हाँसो छ । सोफियालाई नागरिकता दिइए पछि उनले धेरै अन्तर्वार्ता दिएकी छिन् । सम्मेलनहरूमा भाग लिएकी छिन् र अब उनी विश्वको सबैभन्दा लोकप्रिय मानब निर्मित मेसिन अर्थात् मानव रोबोट बनेकी छिन् ।

प्रसिद्ध खगोल वैज्ञानिक एबं भौतिकशास्त्री स्टेफेन हकिंगले यो भविष्यवाणी गरे कि एक दिन रोबोटले वास्तवमा मानवतालाई पूर्णरूपमा बिस्थापित गर्ने छ । उनको यो चेतावनी छ कि कृत्रिम बुद्धिमत्ता अन्तत: यति उन्नत हुँदै जान्छ कि त्यसले मानिसहरुलाई पछाडि पारेर जीवनको नयाँ रूप बन्न सक्छ । उनकाअनुसार यसरी अनियन्त्रितरुपमा रोबोट निर्माण गर्दै जाने हो भने एकदिन एआईले मानिसलाई पूर्णरूपले प्रतिस्थापन गर्न सक्षम हुनेछ । विशेषगरी यस्तो बिन्दुमा पुग्नेछ जहाँ यसले सुधार गर्न र आफैं अरु अरु रोबोटहरु निर्माण गर्न सक्षम हुनेछ र अन्तमा रोबोटहरूले मानव जातिलाई बशमा राख्न सक्षम हुनेछन् । उनका अनुसार रोबोटहरू आफ्नै डिजाइनमा धेरै छिटो सुधार गर्न सक्दछन् र चाँडै, तिनीहरू सायद हाम्रो मद्दतबिना त्यसो गर्न सक्षम हुनेछन् र यसले एक ‘इन्टेलिजेन्स विस्फोट ’सिर्जना गर्दछ जसमा मेशिनहरूले हाम्रो बौद्धिकताभन्दा बढी बौद्धिकता भएका रोबोटहरु निर्माण गरेर मानव जातलाई वशमा राख्न सक्षम हुनेछन् वा मानबलाई नै नस्ट गर्ने छन् ।

एआई हाम्रो सभ्यताको इतिहासमा सबैभन्दा खराब घटना हुन सक्छ । यसले खतराहरू ल्याउँछ, शक्तिशाली स्वायत्त हतियारहरू, वा मनिसहरु दमन गर्न नयाँ तरिकाहरू रोबोट मार्फत निर्माण हुन सक्छन् । उनले यो पनि भविष्यवाणी गरे कि एआईले क्रमिकरूपमा मानव कौशल विस्थापन गर्न र बेरोजगारी बढाउन सक्छ । एआईमा सीमित पहुँचले विश्वव्यापी असमानता बढाउन सक्छ । तर उनका अनुसार नियन्त्रित एआई प्रणालीले युद्ध, गरीबी र रोग उन्मूलन गर्न मद्दत गर्दछ । उनले यस्तो भविष्यवाणी गरे पनि १९८५ देखि बोल्न असमर्थ उनले आफ्नो जीवनमा एआईमा नै भर परेर संसारसँग कुराकानी गर्दै आएका थिए । एआईको माध्यमले उनले आफ्नो प्राकृतिक शरीरको भन्दा बढी सक्षम , राम्रो र अधिक कुशल आवाज दिएका थिए ।

नियन्त्रितरुपमा रोबोट निर्माण गर्दै जाने हो भने रोबोट टेक्नोलोजीको विकासले समाजलाई यातायात, शिक्षा, स्वास्थ्य, कला, सैन्य र औषधिजस्ता धेरै क्षेत्रहरूमा सहयोग गर्ने सम्भावना रहेको छ ।

(लेखक दाहाल अमेरिकाको टेक्ससमा बसोवास गर्दै अनुसन्धानको काममा संलग्न छन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *