सुन्दरता जस्तो दिमाग पनि उस्तै, संसारकै सुन्दर महिलाको रहस्यमय जीवन

डिसी नेपाल
६ माघ २०७६ १३:०९

काठमाडौं। १९ जनवरी २००० मा संसारकै सबैभन्दा सुन्दर मध्येकी एक महिलाको निधन भएको थियो । उनको निधन भएको २० वर्ष पूरा भएको छ । यी महिला आफ्नो समयमा विश्वकै सबैभन्दा सुन्दर महिला मात्र होइन सबैभन्दा सुन्दर अभिनेत्री र सबैभन्दा अद्भूत आविष्कारक पनि थिइन् । तर, उनको बारेमा निकै कम मानिसहरुलाई मात्र थाहा छ । उनको अद्भूत सुन्दरताको पछाडि महान वैज्ञानिक आइन्स्टाइनजस्तो दिमाग पनि थियो । उनैको आविष्कारका कारण आज हामी तारको प्रयोग नगरी फोनमा कुरा गर्न सक्छौं, इन्टरनेट चलाउँछौं, गीत सुन्छौं ।

यी महिलाको नाम हेडविग इभा मारिया किसलर हो जसलाई मानिसहरु प्रेमपूर्वक हेडी लमार भन्छन् । ९ नोभेम्बर १९१४ मा अष्ट्रियाको भिएनामा जन्मिएकी हेडी लमारको मृत्यु ८५ वर्षको उमेरमा १९ जनवरी २००० मा भएको थियो । हेडी आफ्ना बोल्ड फिल्मका लागि चिनिन्छिन् तर उनले जुन आविष्कारहरु गरेकी थिइन् त्यसैको सहयोगमा आज हामी तारबिना कुरा गर्छौं, गीत सुन्छौं, इन्टरनेट चलाउँछौं । हेडी लमार पेशाले वैज्ञानिक थिइनन् तर उनको दिमाग यति तीक्ष्ण थियो कि उनले केही नयाँ खोज्दै गर्दा धेरै आविष्कारहरु गर्न सकेकी थिइन् ।

उनले ट्राफिक लाइट र कार्बोनेटेड पानीको विषयमा कैयौं प्रयोग गरेकी थिइन् । त्यो समयमा ट्राफिक लाइटमा कैयौं सुधारहरु भएका थिए जो हेडी लमारको प्रयोगको नतिजा थियो । कार्बोनेटेड पानीको प्रयोग भने विफल भएको थियो । हेडी लमारले त्यतिबेलाको उड्डयन व्यवसायका सबैभन्दा ठूला व्यवसायी होवार्ड ह्युसलाई हवाइजहाजको डिजाइन चारपाटेबाट परिवर्तन गरेर गोलो बनाउन सुझाव दिएकी थिइन् । त्यसपछि विमानको डिजाइन पन्छी वा माछाको शरीरको आकार जस्तै गोलो बनाउन थालिएको थियो । अहिले पनि विमानको डिजाइन हेडी लमारको सुझाव जस्तै छ ।

दोस्रो विश्वयुद्धको बेला जलसेनाले रेडियोद्वारा नियन्त्रित टारपिडोबाट आक्रमण गर्थ्यो । यो टारपिडोको सिग्नल जाम गरेर यिनीहरुलाई अन्य दिशामा मोड्न सकिन्थ्यो । यो देखेपछि हेडी लमारले यसको विकल्प खोज्न थालिन् । खोज गर्दै जाँदा हेडी लमारले जर्ज एन्थिलसँग मिलेर फ्रिक्वेन्सी होपिङ स्प्रेड स्पेक्ट्रम प्रविधिको खोज गरिन् । जर्ज एन्थिल पनि वैज्ञानिक थिएनन्, उनी संगीतकार थिए । यही प्रविधिका आधारित रहेर आज हामी ब्यूटुथ, वाइफाइ र वायरलेस प्रविधिमा काम गरिरहेका छौं ।

सन् १९४२ मा हेडी लमारको यो प्रविधिलाई अमेरिकी सरकारले पेटेन्ट दियो तर अमेरिकी नौसेनाले भने यसलाई प्रयोग गर्न अस्वीकार गर्यो । करिब २० वर्ष पछि अमेरिकी सरकारले क्युबन मिसाइल क्राइसिसको समयमा १९६२ मा अन्ततः हेडी लमारको प्रविधि अपनायो । विस्तारै उनको यही प्रविधिमा आधारित रहेर ब्युटूथ र वाइफाइ जस्ता प्रविधि विकसित भए ।

हेडी लमारको जीवन निकै उतारचढावपूर्ण रह्यो । युरोपेली फिल्म उद्योगमा हेडी लमारले १६ वर्षको उमेरदेखि नै काम गर्न सुरु गरेकी थिइन् । १९३० मा हेडी लमारले ‘मनी अन द स्ट्रिट’ फिल्मबाट काम सुरु गरेकी थिइन् । १९३३ मा आएको ‘एक्सटेसी’ फिल्मबाट उनलाई विश्वले चिन्यो । महिलाको यौन इच्छामा आधारित यो फिल्म त्यतिबेला निकै विवादित भएको थियो । १९३८ मा हेडी लमारले हलिउड प्रवेश गरिन् ।

हेडी लमारको जीवनमा कैयौं पुरुष आए । उनले कूल ६ विवाह गरिन् । १९३३ मा १९ वर्षको उमेरमा पहिलो विवाह फ्रिट्ज म्यानसँग गरेकी उनले दोस्रो बिहे १९३९ मा जीन मार्केसँग, तेस्रो बिहे १९४३ मा जोन लाडरसँग, चौथो बिहे १९५१ मा टेडी स्टफरसँग, पाँचौं बिहे १९५३ मा डब्लु होवार्य लीसँग र छैटौं बिहे १९६३ मा लेविस जे बोइससँग गरिन् । तर, उनका तीन मात्र सन्तान भए । १९६० मा उनलाई हलिउड वाक अफ फेममा सामेल गरियो । उनको खोजको लागि २०१४ मा मरणोपरान्त उनलाई नेशनल इन्भेन्टर्स हल अफ फेममा सामेल गरियो ।

मृत्युको एक दशकअघि हेडी लमार कैयौं अदालती मुद्दामा फसिन् । कैयौं मुद्दा उनले जितिन् कैयौं हारिन् । अन्तिम समयमा उनी एक्लै थिइन् र कसैसँग भेटघाट गर्दिनथिन् । हेडी लमारले अमेरिकाको फ्लोरिडास्थित क्यासलबेरीमा १९ जनवरी २००० मा मुटुरोगका कारण प्राण त्यागिन् । उनको अन्तिम इच्छाअनुसार उनका छोरा एन्थोनी लोडरले उनको अस्तु अष्ट्रियाको भिएना वुड्समा छरेका थिए । भिएना प्रशासनले हेडी लमारको स्मृतिमा आफ्नो सेन्ट्रल सिमेन्ट्रीमा समाधि बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *