‘राजीनामा नदिने मेरो अडानका पछाडि व्यक्ति वा संस्थाको होइन संविधानको ब्याकअप थियो’
फाइल
काठमाडौं। उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफूले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् ।
संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठक पछि पत्रकार सम्मेलन गर्दै उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी पनि गरिन् ।
उनले भनिन् “बाजी मैले मारेँ । आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु ।” राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् । उनले भनिन् “मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।”
आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन् “मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।” पत्रकारहरुले पटक पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफूलाई उर्जा मिलेको पनि उल्लेख गरिन् ।
उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन् “सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।” उनले मुलुकमा पितृसंसत्ता सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment