सामान्य खालको औषधि पनि पाइदैन, रुकुमपूर्व जिल्ला अस्पतालमा

डिसी नेपाल
८ माघ २०७६ १९:३२

रुकुमपूर्व । जिल्ला अस्पताल रुकुमपूर्वमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सामान्य खालको औषधि पनि पाउन नसक्दा उपचारका लागि आउने बिरामी समस्यामा परेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नं ५ मा रहेको जिल्ला अस्पतालमा दैनिक ५० देखि ७० जनासम्म बिरामी आउने गर्दछन् तर अस्पतालमा पुगेपछि आफूलाई आवश्यक औषधि नपाएर बिरामी निराश भएर निजी मेडिकलतिर धाउने गरेका छन् ।

गत वर्षको पुस ९ गते रुकुमपूर्वमा जिल्ला अस्पताल बनाउने घोषणा गरिएको थियो । अस्पतालको उद्घाटन गरियो तर जिल्ला अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ की सुनिता पुनले गुनासो पोख्नुभयो ।

सतत्तरौँ जिल्लाका रुपमा नयाँ स्थापना भएको रुकुमपूर्वमा गएको मङ्सिर ५ गते प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्ला अस्पतालको उद्घाटन गरेका थिए । जिल्ला अस्पताल उद्घाटन हुँदा स्वास्थ्य सम्बन्धिका सबै सेवा सुविधा जिल्लामै पाइने भयो भन्दै हर्षित भएका जिल्लावासी अहिले अस्पतालमा सामान्य औषधिसमेत नपाउँदा रित्तो हात फर्कन बाध्य परेका छन् । अस्पतालमा औषधि अभाव भएपछि आएका बिरामीलाई जाँच गर्दै पठाउँदै गर्ने गरेको जिल्ला अस्पताल रुकुमपूर्वका प्रमुख डा राजेन्द्र जिसीले बताए । स्वास्थ्यचौकीको भवनबाटै जिल्ला अस्पतालको सेवा प्रदान गरिरहेको र त्यसैमा पनि औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भइरहेको उनले बताए ।

“औषधि खरिदका लागि छुट्याइएको ३०÷३२ लाख बजेट प्राविधिक गडबढीका कारण भवन निर्माणका लागि भनेर आएको थियो, जसले गर्दा क्लोनिकाले रकम निकासा गरिदिएन”, डाक्टर जिसीले भने, “अहिले त्यो रकम निकासाका लागि शीर्षक सच्याएर आएको छु, तर त्यति रकमको औषधिले पनि पुग्दैन् ।” अस्पातालमा ५० प्रतिशत औषधि अभाव रहेको उनको भनाइ छ । स्वास्थ्यौकीमा पाइने खालका केही औषधि अस्पतालमा छन्, तर सुई, बच्चालाई खुवाउने झोल औषधि, सलामी चराउने बोतल लगायतका औषधि नभएको उनले बताए ।

त्यसैगरी, आइरन, कोट्रिन र सिप्रो औषधि भने आवश्यकताभन्दा २५ प्रतिशत बढी स्टक रहेको उनले बताउनुभयो । आवश्यक उपकरण प्रदेश सरकार र स्थानीय तहले उपलब्ध गराएका छन् । विद्युत् नहुँदा उपकरण प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालले जनाएको छ । विद्युत् आउँदै नआउने आएपनि कम क्षमताको आउने गरेकाले भिडियो एक्स–रे, एक्स–रे लगायतका मेसिन चल्न नसकेर थन्किएको उनले बताए ।

अस्पतालमा जेनेरेटर भए पनि इन्धन अभावका कारण नियमित सञ्चालनमा ल्याउन नसेको अस्पतालले जनाएको छ । डाक्टर जिसीका अनुसार जिल्ला अस्पतालमा एउटा डिजिटल एक्स–रे छ, तर त्यसै थन्किएको छ । भवन अभावकै कारण डिजिटल एक्स–रे सञ्चालनमा आउन नसकेको बताइएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष पनि बनाइएको छैन । ल्याब टेक्निसियन, रेडियोग्राफर र मेडिकल रेकर्डको पद खाली रहेको उनको भनाइ छ । खाली रहेका यी पदपूर्तिका लागि लोकल उत्पादन नभएको र बाहिरबाट ल्याउन खोज्दा कोही आउन नमानेको डाक्टर जिसीले बताए ।

उनका अनुसार अहिले जिल्ला अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ । स्वास्थ्यचौकी बसेको भवनका ३० वटा कोठा रहेका छन् । भवन अभावको समस्यालाई समाधान गर्न भौतिक संरचना निर्माणका लागि सिस्ने गाउँपालिकाले आवश्यक जग्गा उपलब्ध गराइसकेको छ । डिपीआरको लागि पनि पाँच लाख बजेट विनियोजन गरिएको छ । तर ठाउँ भिराला भएको भन्दै डिपिआरको काम पनि अघि बढ्न नसकेको बताइएको छ ।

यसअघि स्वास्थ्यचौकीको नाममा १४ रोपनी जग्गा रहेको थियो । गाउँपालिकाले २१ रोपनी जग्गा दिएर ३५ रोपनी क्षेत्रफल भएको छ । यता जिल्ला अस्पतालमा खड्किरहेको औषधि अभावलाई छिटै परिपूर्ति गर्नतिर प्रदेश सरकार लागिरहेको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

पहिले औषधि खरिदका लागि छुट्याइएको बजेट भवनमा परेपछि भर्खरै शीर्षक सच्याइएको र औषधि खरिद गरेर छिटै पठाउने उनले बताए। भवन अभावकै कारण विभिन्न प्रकारका मेसिन प्रयोगमा आउन नसकेकोतर्फ सङ्केत गर्दै उनले जिल्ला अस्पतालको भौतिक संरचना निर्माणका लागि २७ करोड बजेट रहेको भन्दै पहिलो चरणमा ८ करोडको ठेक्का आह्वान गर्ने तयारी गरिरहेको बताए ।

अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको रुकुमपूर्वमा बिरामीको सहजताका लागि प्रदेश सरकारले एम्बुलेन्स पनि उपलब्ध गराइदिने उनले बताए। एम्बुलेन्स खरिदको प्रक्रियामा गइसकेकाले छिटै एम्बुलेन्स पनि जिल्लामा आउने उनको भनाइ छ । जिल्ला अस्पतालमा भनेजस्तो सेवा सुविधा नपाउँदा अझै पनि जिल्लाका नागरिक जटिल प्रकृतिको रोगको उपचारका लागि रुकुमपश्चिम, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *