सिद्धगुफाबाट भ्रमण वर्षको शुरुआत

डिसी नेपाल
९ माघ २०७६ ७:०१

दमौली । तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार भ्रमण वर्षको शुरुआत गर्दै सरकारको अभियानमा सहयोग पुर्याउनु सबैको कर्तव्य भएको बताए ।

उनले भने, “भ्रमण वर्षको सन्दर्भमा सिद्धगुफा विकास समितिले राखेको कार्यक्रम राम्रो छ । सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्ने हो भने सरकारको अभियान सफल हुन्छ।”

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धनमा नगरपालिका जुटेको बताए ।

धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण वर्षमा यस ठाउँमा करीब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ।

धेरैभन्दा धेरै पर्यटक भित्राउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतिक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएको उहाँले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय, पानीको दह निर्माण गरिसकेको छ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो। दुई सय मिटर लामो गुफामा चार तल्लाको रहेको छ।

गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सक्दछन् ।

प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने सो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ।

जिदीखोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ।

व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *