कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने

डिसी नेपाल
१६ माघ २०७६ ११:४९

सुर्खेत । कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अर्गानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य सङ्घको संयुक्त साझेदारीमा अगामी फागुन ६ देखि १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो।

सङ्घका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष ग्राहयता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाइने जानकारी दिए ।

उनका अनुसार प्राङ्गारिक कृषिसँग सम्बन्धित मात्रै १०० प्रदर्शनी कक्ष रहने छ । बेलायतको लण्डन ब्रिजको संरचनाअनुसारको मूल गेट, दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावरस्वरुपका संरचना बनाई सेल्फी जोन निर्माण गरिनेछ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्स्पोमा कृषि सम्मेलनको पनि आयोजना गर्ने बताए ।

प्राङ्गारिक कृषि, जैविक विविधताको संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षणका लागि विज्ञसहित सरोकारवालाको सहभागिता रहने गरी टक सो कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए ।

कर्णालीका १० वटै जिल्लाबाट प्राङ्गारिक कृषि तथा जडीबुटी उत्पादन, लघु उद्यमीका उत्पादन प्रदर्शनी कक्ष रहने छन्।

महोत्सवमा करिब ५०० व्यावसायिक प्रदर्शनी कक्ष , करिब रु पाँच करोडको व्यावसायिक कारोवार हुने र तीन लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

सङ्घले हरेक तीन वर्षमा एकपटक महोत्सव सञ्चालन गर्दै आएको छ। सङ्घले एक्स्पोबाट प्राप्त आम्दानीको रु ५० लाखको अक्षयकोष बनाई प्रकोप पीडितलाई राहत दिने लक्ष्य लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *