कोरोना संक्रमण : नेपालको चिन्ता चीनबाट फिर्ता ल्याइएका नेपाली कहाँ राख्ने?

डिसी नेपाल
१६ माघ २०७६ १८:५३

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

बिहीबार भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए।

कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिका, अष्ट्रेलिया लगायतका देशहरुले आफ्ना नागरिक फिर्ता बोलाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।

अध्ययनका क्रममा वा कामका क्रममा चीन गएका नेपालीहरुमा अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउँदै उनले अहिले नै फिर्ता गरिहाल्नुपर्ने अवस्था नभएको तर यसका लागि आवश्यक तयारी भने गरिरहेको बताए।

‘फिर्ता बोलाउने तयारी छ। तर अहिले नै बोलाइहाल्नुपर्ने अवस्था छैन। फिर्ता बोलाएपछि अमेरिका लगायतका देशहरुले विभिन्न टापुमा लगेर १५ दिनका लागि राखेको छ। हामीले फिर्ता बोलाएपछि कहाँ राख्ने भन्ने विषयमा छलफल भएको छ। आर्मीले आफ्नो ब्यारेकमा कतिसम्म राख्न सक्छ भनेर पनि छलफल भएको छ। फिर्ता बोलाएपछि उहाँहरुलाई १५ दिन छुट्टै राख्नुपर्ने हुन्छ’, उनले भने।

स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन एकाई प्रमुख सागर दाहालले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी बढाइरहेको बताए। उनका अनुसार चीनसँग जोडिएका नाकाहरुमा पनि निगरानी सुरु गरिएको छ। रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी बढाइएको उनले बताए।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुले आफुहरुको उद्धार गर्न चीनमा रहेको नेपाली दुतावासलाई आग्रह गरेका छन्। चीन लगायत विश्वका दर्जन बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म १७० जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *