ग्रामीण सडक निर्माणमा वेथिति सडक खनिन्छ, गाडी गुड्दैनन्

डिसी नेपाल
१८ माघ २०७६ ११:५८

सुर्खेत । कर्णालीका अधिकांश स्थानीय तहमा सडक निर्माणमा मनलाग्दी हुने गरेको छ । मनलाग्दी सडक खन्ने र बजेट खर्च गरिए पनि त्यसको उपयोगिता भने भएको छैन ।

यस्तै दैलेखको तल्लोडुङ्गेश्वर–लुजै–मेला–बालेबजार जोड्ने सडक लाखौं रकम खर्चेर खनियो । वर्षातको बेला गएको पहिरोले यो सडकको स्तरोन्नोति गरिएको छैन ।

दैलेख जिल्लाका अधिकांश गाउँ र टोलहरुमा सडक खनिएका छन् । सडक खनिएको समयमा साना सवारी सञ्चालनमा आए पनि वर्षातको बेला पूर्ण रुपमा ठप्प हुन्छन् । ग्रामीण सडक निर्माणको नाममा जनप्रतिनिधिको कमाउनेधन्दा सुरु गरेकै कारण बनेका सडक दिगो नभएको गुनासो स्थानीयहरुको रहेको छ ।

अधिकांश सडक जनप्रतिनिधिले नै ठेक्का लिने र विना प्राविधिक अध्ययन डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पिनेक्रम कर्णालीका धेरै पालिकाहरुमा बढ्दैँ गएको छ ।

पालिकाहरुले वातावरणिय प्रभाव मुल्यांकन नै नगरी सडक खन्ने काम धमाधम अघि बढाउँदा कतिपय ठाउँका वस्तीहरु जोखिममा पनि रहेकाछन् । खेतियोग्य जमिन सडकमा परिणत भएका छन् भने सडककै कारण भू–क्षयको त्रास छ ।

यस्तै जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष प्रेमबहादुर थापा का अनुसार सबै वडा र टोलमा सडक पुगेका छन् । तर ति सडकहरुमा अझै पनि बाह्रै महिना गाडी गुड्न सक्ने अवस्थाका छैनन् । अनुगमनका क्रममा हचुवाको भरमा सडक खनिएको भेटाएको बताएका छन् ।

उनले भने ‘सडकको स्तरोन्नतिभन्दा नयाँ–नयाँ सडक खन्ने प्रचलन पालिकाहरुले अहिले पनि यथावत राखेका छन्, तीन महिना पहिला सम्पन्न जिल्ला सभाको बैठकमा नयाँ सडक खन्नेभन्दा पनि खनिसकेका सडकहरुको विभाजन गरेर दिर्घकालिन बनाऔं भन्ने विषयमा छलफल भइसकेको छ ।’

‘साथै यसविषयमा प्रदेश सरकारले आयोजना गरेको समन्वय परिषद्को बैठकमा पनि गम्भीर भएर कुरा राखेको छु, तर केन्द्र र प्रदेश सरकारले रणनितिक सडकहरुको गुरुयोजना नबनाएसम्म पहाडका खेतीयोग्य जमिन मासिने हुने खतरा छ, सडकको मापन गर्ने नीति नबन्दासम्म पालिकाहरुमा वेथिति झन् बढ्ने मेरो दावी हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *