नगरपालिकाले बाँड्न थाल्यो नि:शुल्क सेनेटरी प्याड

डिसी नेपाल
१८ माघ २०७६ १२:०५

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका महिलालाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्न थालेको छ । नगरभित्रका किशोरी तथा महिलालाई निशुल्क रुपमा प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको हो।

नगरपालिकाले नगरभित्रका महिनावारी हुने उमेरका किशोरी तथा महिलालाई निशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको हो । वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट नि:शुल्क प्याड वितरण अभियान सुरु गरिएको हो । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा महिला र किशोरीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ।

यही समस्या समाधान गर्न र सुरक्षित महिनावारीका लागि निशुल्क रुपमा सेनेटरी प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ
चालु आर्थिक वर्षका लागि नगरपालिकाले प्याड वितरण गर्न १५ लाख बजेट विनियोजन गरेको छ।

आगामी वर्ष यसलाई बृद्धि गरिने नगरपालिकाले जानकारी दिएको हो। नगरका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड निशुल्क वितरण हुन थालेको नगरपालिकाको भनाइ छ।

महिनावारी हुने उमेरका छात्रा र महिला सबैलाई निशुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगरपालिका बनेको उपप्रमुख मोहनमाया ढकालले दाबी बताइन्।

उपप्रमुख ढकालले भनिन्,‘अब नगरभित्र महिनावारी हुने उमेरका किशोरी र महिलाले निःशुल्क रुपमा सेनेटरी प्याड पाउनेछन्, एक जनालाई मासिक एक प्याकेटका दरले उपलब्ध गराउने छौं।’

प्याड स्वास्थ्य संस्थामा आफै उपस्थित भएर लिनुपर्ने नियम बनाएको छ। यसले किशोरी र महिलाहरु महिनामा कम्तिमा एकपटक स्वास्थ्यकर्मीको पहुँचमा हुने र उनीहरुको मासिक रुपमा स्वास्थ्य परिक्षण पनि गरिने नगरपालिकाले जनाएको छ।

मर्यादित र सुरक्षित महिनावारीका लागि यो कार्यक्रम सुरु गरिएको भन्दै नगरपालिकाले चाँडै नगरलाई छाउगोठमुक्त घोषणा गरिने जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *