पक्षघातबाट पीडित भरत सिजालीको आग्रह ‘मलाई बचाउनुस्’

डिसी नेपाल
१९ माघ २०७६ ११:३०

सुर्खेत । नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस) ले थला पारेपछि उनको परिवार विचल्लीमा परेको छ। आर्थिक अवस्था कमजोर भएका उनको दुवै खुट्टा नचल्ने भएपछि ६ महिनादेखि ओछ्याउनमै थला परेका छन्।

आमाबुबा, श्रीमती र दुई सन्तानको साहारा बनेको भरत थला परेपछि परिवार विचल्लीमा परेको छ । जन्मजातै मेरुदण्डको समस्या भएका भरतको वयस्क भएपछि समस्या बल्झिएको थियो।

‘मेरुदण्डमा मासु पलाएको थाहा भएपछि शल्यक्रिया गरियो, केहि वर्ष सन्चो पनि भयो तर, अहिले कम्मर मुनीको भाग चल्दैन्,’ उनले भने ‘सामान्य मजदुरी गरेर जीवन निर्वाह गरिरहेको म उपचारका लागि खर्च जुटाउन नसक्ने अवस्थामा छु ।

‘ऋण गरेको सबै रकम उपचारमा सकियो । अब थप उपचार खर्च केही छैन्, त्यसैले मलाई बाँच्ने मन छ भन्दै सहयोग माग्दैछु ।’ भरतका ७६ वर्षीया बुबा भगिराम सिजाली २६ वर्षदेखि जलविन्दु (आँखा नदेख्ने) समस्याले ग्रसित छन् भने ७४ वर्षीया आमा दिलमाया सिजाली कान सुन्दिनन् । भरत थला परेपछि परिवारलाई हातमुख जोड्न मुस्किल परेको छ ।

‘बुढेसकालमा कमाएर खुवाउने छोरा रोग लागेर थला परेको छ,’ घरमा खाने पनि केहि छैन्,’ आमाले गहभरि आँसु पार्दै भनिन् । कमाउने छोरा थला परेपछि बुबा भगिराम घिस्रिएर सहयोगको याचना गरिरहेका छन् ।

उनलाई घर बाहिर जान पनि अर्काको सहारा चाहिन्छ । ‘छोराको उपचारमा लागेको ऋण तिर्नै बाँकी छ,’ भगिराम भन्छन् ‘जीवन गुजारा गर्न पालेको भैसी बेचेर छोराको उपचार ग‍-यौ, तर छोरा ओछ्यानबाट उठ्न सकेको छैन्।’

श्रीमानको अवस्था देखेर श्रीमती कनमती सिजाली बेला–बेला भक्कानिन्छिन् । आर्थिक अवस्था निकै कमजोर भएकाले श्रीमानको उपचार गर्न नसकिएको उनी बताउँछिन् । उनले श्रीमानको उपचारका लागि सहयोग गरिदिन आग्रह गरिन् । ‘उपचार गर्ने आर्थिक सामथ्र्य छैन् ।

कुनै आयस्रोत पनि छैन्,’ उनले भनिन् ‘मनकारीहरुले मेरो गुहार सुनिदिनुहोला ।’ उपचारका लागि सरकारबाट कुनै सहयोग नपाएको गुनासो उनको छ। ‘दुई छोरा छोरीलाई पढाउन पनि हम्मेहम्मे परेको छ,’ उनले भनिन् ।

१६ वर्ष अघि नौमूले गाउँपालिकाको बालुवाटरबाट भरतको परिवार नारायण नगरपालिका–४ रातापानीमा बसाई सरी आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *