चीनबाट नेपालीहरुको उद्धार गर्न किन ढिलाई भइरहेको छ?

डिसी नेपाल
२० माघ २०७६ १९:०५

काठमाडौं । जनवरीको अन्तिम हप्ता छिमेकी मुलुक चीनको हुबेई प्रान्तको वुहान शहरमा पहिलो पटक देखा परेको रहस्यमयी नोभल कोराना भाइरस महामारीका रुपमा फैलिएपछि चीनमा रहेका नेपालीलाई फर्काउने नेपालको तयारी पूरा हुन सकेको छैन । सोमबारसम्म चीनबाट फर्काइएका नेपालीलाई कहाँ राख्ने भन्ने निर्णय हुन नसक्दा उनीहरुलाई कहिले फर्काइन्छ भन्नेबारे अन्योल कायम रहेको हो ।

चीनबाट नेपाल फर्किन हुबोई प्रान्तमा रहेका १८० जना नेपालीले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीनमा रहेका नेपालीको उद्धार गर्न भन्दै विमान चाटर्ड गर्ने बताइसकेको छ । तर, चीनबाट फर्काइएपछि उनीहरुलाई कम्तिमा १५ दिन विशेष निगरानी (क्वारेन्टाइन)मा राख्नुपर्ने भएकाले सम्भावित स्थानहरुको खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शनिबार सुरक्षा अंगका प्रमुख, परराष्ट्र, स्वास्थ्य र पर्यटनका अधिकारीहरुसँग यो विषयमा छलफल गरेर चीनमा रहेका नेपालीलाई उद्धार गर्न निर्देशन दिएका थिए । त्यसपछि लगतार सुरक्षा अंग, परराष्ट्र, स्वास्थ्य र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबीच लागातार छलफल भइरहेको छ । सोमबार पनि यस्तो छलफल भएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सरकारले सेना र प्रहरीलाई चीनबाट फर्काइएका नेपालीहरुलाई राख्ने स्थानको खोजीका लागि जिम्मेवारी दिएको छ । प्रवक्ता पाण्डेले सम्भावित स्थानहरुको खोजी भइरहे पनि सोमबारसम्म स्थानको टुंगो नलागेको जानकारी दिए ।

उनले भने, ‘स्थानमात्र भन्दा पनि अन्य सेवा सुविधाको कुरा पनि छ । स्वास्थ्यकर्मी, सुरक्षा किटलगायत सबै चिजको बन्दोबस्त हुनु पर्छ ।’ उनले मंगलबार हुने छलफलमा चीनबाट फर्काएका व्यक्तिहरुलाई राखिने स्थानबारे टुंगो लाग्ने बताए । सेनाले यसअघि २०७१ मा अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसका बेला पनि १५ जना नेपाली सेनाका जवानहरुलाई यसरी २१ दिनसम्म निगरानीमा राखेको थियो । यो पटक सेनालाई सोही अनुभव काम लाग्ने देखिएको छ । सेनाले त्यतिबेला टोखास्थित आफ्नो तालिम केन्द्रमा उनीहरुलाई राखेको थियो । यो पटक पनि टोखाको विषयमा छलफल चलिरहेको सेनाले जनाएको छ ।

चीनबाट अन्य मुलुकहरुले भने आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेका छन् । भारत, अमेरिकालगायतले आफ्ना नागरिकलाई चीनबाट उद्धार गरेका छन्।

चीनबाट कोरोना विश्वभर फैलिँदा नेपालमा पनि यो भाइरस फेला परेको छ । स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा एकजना संक्रमित फेला परेको र उनी उपचारपछि घर फर्किएको जनाएको छ । तर, यो भाइरस नेपालमा थप फैलिन सक्ने भन्दै चीनबाट नेपालमा र नेपालबाट चीनमा हुने उडानहरु प्रभावित भएका छन् । सोमबारमात्र चाइना सदर्न र एअर चाइनाले फेब्रुअरी ४ देखि फेब्रुअरी २८ सम्म आफ्ना उडानहरु स्थगित गरेको घोषणा गरेका छन् । यस्तै चीनमा उडान गर्र्दै आएको हिमाल एअरले पनि चीन उडान बन्द गरेको जनाएको छ । उता सोमबार नेपाल सरकारले मास्लगायत मेकिडल जन्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ।

कोरोनाका कारण मास्कको माग अत्यधिक बढ्न सक्ने भन्दै सरकारले यस्तो प्रतिबन्ध लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि आइतबारमात्र नेपालबाट चीनमा मास्क पठाइएको खबरहरु बाहिरिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *