कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु

डिसी नेपाल
२४ माघ २०७६ २१:१०

सुर्खेत । कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक भएसँगै शुक्रबारबाट हिउँदे अधिवेशन शुरु भएको छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीबाट पाँचौ अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गर्दै हिउँदे अधिवेशनको शुभारम्भ गरेका थिए। बैठकको शुरुमा सभामुख शाहीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई धारणा राख्न समय दिएका थिए ।

नेता शाहीले बैठकको शुरुमै प्रक्रिया पु¥याउन लागेजस्तो बैठक भएको व्यङ्ग्य गरे। “वर्षे अधिवेशन अन्त्य भएको छ महिनापछि हिउँदे अधिवेशन बसेको छ तरपनि बैठकले निरन्तरता पाउन सक्ने अवस्था देखिदैन,” उनले भने,“दुई वर्षमा जम्मा २९ कानून बनेका छन् । सरकारका कार्यक्रम र अनुदान बजेटको उपलब्धि देखिएको छैन ।”

उनले रोष प्रकट गर्दै अगाडि भने, “उपभोक्ताहरुले घर बनाएका छन् । रु ५० लाखको बजेटमा २० प्रतिशत मागिन्छ । जनप्रतिनिधिका हिसाबले यसको दोषी हामी प्रदेशसभा सदस्यहरुले हुनुपरेको छ । बजेट अहिलेसम्म तीन प्रतिशत मात्र खर्च भएको सुनेका छौं । सरकारले औषधि नपाएर कर्णालीवासी मर्नु पर्दैन भन्दै गर्दा हुम्लामा १६ जनाको ज्यान गइसकेको छ ।”

नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज तथा सत्तापक्षका प्रदेशसभा सदस्य यामलाल कँडेलले नयाँ संरचना, जनशक्ति अभाव, कानून निर्माण र भौगोलिक विकटताका बाबजुद पनि सरकारले जनताले महसुस हुनेगरी काम गर्न आग्रह गरे । उनले भने, “सरकारले आत्मसमीक्षा गरेर अघि बढ्न्पर्छ । सार्वजनिक पदमा रहेर जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गरौं ।

प्रदेशसभा सदस्य कँडेलले सरकारकाप्रति जनताको प्रश्न बढेको भन्दै उनीहरुको उत्तर फर्काउनेगरी काम गर्न सुझाएका थिए । उनले मनगढन्ते समाचार लेखेर केही सञ्चारमाध्यमले विश्वश्नीयता घटाएको बताएका थिए। प्रदेश सरकारले कर्णालीमा काम गर्ने कर्मचारीका लागि प्रोत्साहन रकम थपेर उत्साह बढाएको औंल्याउँदै यसमा यहाँ कार्यरत राष्ट्रसेवकलाई कुशलताका साथ काम गर्न निर्देशन दिए ।

त्यसैगरी, राप्रपाका प्रदेशसभा सदस्य सोशिला शाहीले वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई मात्र भरपोषण गरेको आरोप लागाइन् । “लोकतन्त्रका नाममा लुटतन्त्र फैलिएको छ । नीतिगत भ्रष्टाचार बढिरहेको छ,” सदस्य शाहीले भनिन्, “अब सरकारले जे गर्छ त्यसको गुण र दोषका आधारमा हामी समर्थन वा विरोध गर्छौं ।”

कर्णाली प्रदेशसभाको चौंथो अधिवेशनको ३३औं बैठक भएसँगै वर्षे अधिवेशन असोज १० गते अन्त्य भएको थियो । प्रदेशसभाको दोस्रो बैठक फागुन १ गते हुने जानकारी गराउँदै आजको बैठक स्थगित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *