विद्यार्थी लिन जाने डाक्टर, नर्स र पाइलटलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने

डिसी नेपाल
२८ माघ २०७६ १९:१४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन् ।

भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए । कुनै व्यक्तिमा भोलीबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइन्मा राखिने र त्यसको सम्पूर्णय तयारी भएको बताए ।

चीनबाट संक्रमितहरुलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरु हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने बताए । क्वारेन्टाइन्मा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे ।

त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले बताए । मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर आ—आफ्नो अस्पतालमा आइसोलेसन सहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रवन्ध मिलाउन निर्देशन दिइएको बताए ।

विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएपनि चीनमा रहेका नेपाली मध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा रहेका १८० जना विद्यार्थीहरुले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । सरकारले सम्पूर्ण तयारी पुरा भएको बताएपनि कहिले फर्काउने भन्ने मिति भने तय गरेको छैन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *