भ्रष्टाचारको नयाँनयाँ रुप र शैलीले नियन्त्रणमा चुनौती : प्रदेश प्रमुख कलौनी

डिसी नेपाल
२८ माघ २०७६ १९:२७

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखापरेका नयाँनयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौती थपिएको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँनयाँ उपाय एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौती देखापरेको बताएका हुन्।

प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको बताए । “आयोगले आफ्नो निष्पक्षता, क्रियाशीलता अझ बढाउन रचनात्मक र प्रविधिमैत्री बन्नुपर्छ”, उनले भने, “भ्रष्टाचारजन्य कार्यमा देखापर्ने अनेक रुप र शैलीलाई निस्तेज पार्न आयोगले राज्यका सबै निकाय, सर्वसाधारणसमेत सक्रिय हुने अवस्था सिर्जना गर्नुपर्छ ।” उनले भ्रष्टाचार हुनै नदिन आयोगले प्रवद्र्धनात्मक र निरोधात्मक कार्य गर्नुपर्ने सुझाव दिए । अख्तियारको सक्रियताले नै भ्रष्टाचार निवारणमा टेवा पुग्ने विचार व्यक्त गरे।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको बताए । “आयोगको सक्रियता प्रशंसायोग्य छ, प्रविधिको उच्चतम प्रयोग गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ, नागरिक सचेतना पनि अभिवृद्धि गर्ने कार्यक्रमको खाँचो छ”, उनले भने । मुख्यमन्त्री शाहीले आफ्नो स्वार्थ पूरा नभएपछि दुःख दिनलाई अख्तियारमा मुद्दा हाल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने बताए।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेश सरकार नीतिगत भ्रष्टाचार हुन नदिन सजग रहेको बताइन्। उनले अख्तियारको काम–कारवाहीलाई प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । अख्तियार स्थापना दिवसका अवसरमा आरंग नेपालले ‘बयान’ नामक नाटक मञ्चन गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *