एसआई यूके नेपालको आयोजनामा काठमाडौँमा अन्तराष्ट्रिय शैक्षिक मेला हुँदै 

डिसी नेपाल
२ फागुन २०७६ ११:०७

काठमाडौँ ।  एसआई यूके नेपालको आयोजनामा काठमाडौंमा अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला हुने भएको छ । एसआई यूके नेपालले बिहीबार काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला आयोजना गर्ने जानकारी गराएको हो ।

एसआई यूके नेपालका निर्देशक विनय अधिकारीका अनुसार एसआई यूकेका  विभिन्न २३ वटा देशहरूमा शाखा सञ्जाल छन् । यसले वार्षिक ४० हजार भन्दा बढी विद्यार्थीहरूलाई यूके र आयरल्याण्डमा रहेका विश्वका उच्चस्तरीय विश्वविद्यालयहरुमा अध्ययनका लागि मार्ग प्रदान गर्दै आएको छ । मेला यही फेब्रुअरी २२ तारिख अर्थात फागुन १० गते शनिबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गरिनेछ।

‘विभिन्न देशमा फैलिएको एसआई यूकेले विश्वभरि ५० वटा अफिस मार्फत सेवा प्रवाह गर्दै आएको छ । एसआई यूकेले बेलायतमा १ सय २० वटा भन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ । ‘विद्यार्थीहरुको सूचना पाउने अधिकारको सुनिश्चितता र विद्यार्थीहरुलाई विश्वविद्यालयका प्रतिनिधिबाट शैक्षीक प्रणाली, छात्रबृत्ति, अध्ययन प्रश्चात अन्तराष्ट्रिय स्तरको रोजगारीको अवसर र यूकेको जीवनशैलीको प्रत्यक्ष रुपमा परामर्श गराउने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरेका हौँ,’ निर्देशक अधिकारीले पत्रकार सम्मेलनमा भने ।

मेलामा यूकेका २० वटा भन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहने आयोजक एसआई यूके नेपालको दावी छ । मेलामा नेपालको शैक्षिक क्षेत्रका उच्चपदस्थका विज्ञहरुकोसमेत सहभागिता रहनेछ । मेलाबाट करिव १ हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने आयोजकको अपेक्षा  छ ।

मेलामा सहभागी हुनका लागि अनलाइन फारामको उपलब्धता गराइएको र साथमा विद्यार्थीहरूको पहुँचमा सरल तथा सहज रुपमा पुग्ने गरि विभिन्न विज्ञापनको माध्यमबाट दर्ता तथा सम्पर्क गर्न सक्ने सुविधाको ब्यवस्था गरिसकिएको निर्देशक अधिकारीले बताए । पत्रकार सम्मेलनमा एसआई यूकेका ग्लोबल निर्देशक प्रदिप अधिकारी, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टलगायतको सहभागिता थियो।

एसआई यूकेले विद्यार्थीहरूलाई अध्ययनको लागि अवसर प्रदान गर्ने मात्र नभई विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा परामर्श दिएर देशको विभिन्न क्षेत्रमा सम्भाव्य अवसरको खोजी गर्ने कार्यमा पनि प्रोत्साहन गर्दै आएको दावी गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *