बाँस्कोटा प्रकरणमा प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न

डिसी नेपाल
८ फागुन २०७६ १९:३९

काठमाडौं। सेक्युरिटी प्रेस खरिद प्रकरणमा एक स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाबीच भएको घुस सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्।

बाँस्कोटाले राजीनामा दिँदा सो अडियोमा आफ्नो आजाव नभएको दावी गरेका छैनन्। यसले सो अडियोको आवाज उनकै हो भन्ने स्वीकारोक्ति देखाउँ छ। अडियोमा ७० देखि ७५ करोड रुपैयाँ कमिशनको कुरा भएको छ।

यो अडियो प्रधानमन्त्री शर्मा ओलीले केही महिना अघि नै सुनेको भन्ने केही सञ्चार माध्यमहरुले दावी गरेका छन्। बिहीबार बिहानै यस्तो दावीसहितको समाचार आए पनि बिहीबार बेलुकासम्म प्रधानमन्त्रीका तर्फबाट यो विषयमा कुनै खण्डन आएको छैन। त्यसैले सकसेसम्म प्रधानमन्त्री ओलीले बाँस्कोटालाई जोगाउने प्रयास गरेको घटनाक्रमले देखाउँछ। प्रधानमन्त्री ओली हरेक जसो आफ्नो भाषणमा भ्रष्टाचारविरुद्ध शून्य सहनसिलताको नीति सरकारले लिएको बताउँने गर्छन्। बिहीबारैमात्र पनि बालुवाटारमै एक पुस्तक विमोचन गर्दा प्रधानमन्त्री ओली भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्।

तर, प्रधानमन्त्री ओलीको करनी र कथनीमा एकरुपता देखिएको छैन। यदि उनी भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताअनुसारको अगाडि बढका हुन् भने सञ्चार माध्यमबाट सो अडियो नबाहिरिँदासम्म किन चुप लागेर बसे? प्रो एक्टिभ भएर उनलाई त्यो अडियो सुनकै दिन बर्खास्त गरेनन्? प्रश्न ओलीमाथि तेर्सिएको छ।

अडियो प्रकरणको न्यायिक निरुपण आफ्नो प्रक्रियाअनुसार हुँदै जाला । ओली र बाँस्कोटाको सम्बन्ध क्याविनेटका अन्य मन्त्री जस्तो नभएको केही मन्त्रीहरुले सार्वजिनक रुपमै बताइसकेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा बाहिरिएका मन्त्रीहरुले क्याविनेटमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाईमात्र महत्व दिने गरेको सार्वजनिक गरेका थिए।

यतिमात्र होइन बाँस्कोटा बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका छन्। मन्त्री भएपछि सरकारी निवासमा नबसेर बाँस्कोटा बालकोटमा ओलीको घरमा बस्न शुरु गर्दा ओली र बाँस्कोटाबीचको सम्बन्धको गहिराई अनुमान गर्न सकिन्छ। अतः ओली र बाँस्कोटाबीच पारिवारिक जस्तै सम्बन्ध छ। यस्तो प्रगाढ सम्बन्ध भएका ओली र बाँस्कोटाबीच यो सेक्युरिटी प्रेसको खरिदमा कशिनबारे कुराकानी नै भएन भन्ने कसरी पत्याउने? यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ। ७० करोड कमिशन भनेको चानचुनेको कुरा होइन। यति ठूलो कमिशन पचाउन ‘ठूलो मुटु’ भएर मात्र हुँदै ‘ठूलै संरक्षकत्व’ पनि आवश्यक हुन्छ। त्यसैले यो प्रश्न पनि प्रधानमन्त्री ओलीमाथि नै तेर्सिन्छ।

अब अर्को प्रसंग भाषाको। प्रधानमन्त्री ओली नेपाली सञ्चार माध्यमले उच्च आदार्थी शब्द प्रयोग नगरेर भाषा विगारेको आरोप लगाइरहन्छन्। स्वयम बाँस्कोटा पनि सञ्चार माध्यमले प्रयो गर्दै आएको आदार्थी शब्दमा कटाक्ष गर्दै आएका थिए। र ओलीको पार्टी नेकपाले त आन्तरिक आचार संहिता जारी गर्दै भाषाबारे कार्यकर्ताहरुलाई कसेको छ।

तर, सार्वजनिक भएको अडियोमा बाँस्कोटाले दुई पटक उच्चारण गरेको भाषामा प्रयोग भएका शब्द यहाँ लेख्न मिल्ने खालका नै छैनन्। त्यो पनि राष्ट्र सेवक कर्मचारीमाथि प्रयोग गरिएको छ। यो विषयमा पनि आफ्ना अति निकट व्यक्तिले प्रयोग गरेको भाषाबारे प्रधानमन्त्रीमाथि नै प्रश्न जान्छ? अब उनले के गर्लान्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *