‘श्री ५ को जय’ भन्दै लिम्बूले नाङ्गो खुकुरी नचाएपछि

डिसी नेपाल
१० फागुन २०७६ ९:०६

राजधानी काठमाडौं जसलाई त्यो बेला नेपाल भनिन्थ्यो मा के के हुन्थ्यो सारै छिटो त्यसको प्रभाव गाउंमा परिहाल्दैनथ्यो । सूचनाको भनौं खबरको माध्यम भनेको आउने जाने मानिसहरु नै मात्र हुन्थे । नजिकको नातामा साह्रो गाह्रो मरु—मराऊ भएमा मानिसलाई नै चिठीपत्र खबरका साथ पठाउनु पथ्र्यो । एकपटक हल्ला आइसकेपछि त्यसको प्रभाव भने लामो समयसम्म गाउंमा रहन्थ्यो ।

२००७ सालको क्रान्तिका उत्तरार्धतिर तत्काली राजा श्री ५ त्रिभुवन काठमाडौंबाट भागेर भारतीय दूतावासमा शरण लिंदै दिल्लीतर्फ गइसकेका रहेछन् । यसको जानकारी जव गाउंमा आयो त्यसपछि राणाबाटै ‘सुब्बा’ र ‘राइटर’ पद्वी पाएको भए पनि राणाविरोधी देखिएको पूर्वी पहाडको लिम्बूसमुदायका कतिपय व्यक्तिहरु वाहुन—क्षेत्रीहरुप्रति आक्रामकरुपमा प्रस्तुत हुंदा त्यहांको सामाजिक संरचनामा एकप्रकारको उथलपुथल नै आयो ।

२००७ सालको क्रान्तिताका नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन मूलत पूर्ण प्रजातन्त्रका लागि भने थिएन । भित्रीरुपमा राणाहरुको जाहाँनियाँ शासन हटाएर संवैधानिक राजतन्त्रातात्मक कायम गर्नु थियो । यसैले राणाको बिरुद्धमा राजा र काँग्रेस मिलेर आन्दोलन गरेका थिए ।

जनसंख्याको हिसाबमा माँझ किरातमा राईजातिहरु र पल्लो किरातमा लिम्बूजातिहरुको बाहुल्यता भएको हुँदा दोलखापूर्व अरुणपश्चिम मांझ किरांत र अरुणपूर्व ईलामसम्मलाई पल्लो किरांत मानिन्थ्यो । पल्लो किरांतलाई लिम्बूवान पनि भनिन्थ्यो । पल्लो किराँतलाई छथर, फेदाप, आठराई, पााचथर आदि नामाकरणका साथै १७ थुम नामका भौगोलिक ईलाकामा बिभाजित गरी स्थानीय तहमा लिम्बू जातिका मानिसहरुबाट सन्चालन हुने गरी अमाली अड्डा(शुरु तहको प्रशासनिक इकाइ) खडा गरिएका थिए । अमाली अड्डामा काम गर्ने मुख्यलाई अमाली सुव्वा भनिन्थ्यो भने उनका साहायकलाई राइटर भनिन्थ्यो । यी दुवै लिम्बू जातिबाटै हुन्थे ।

पल्लो किरातको प्रशासनकालागि राणा सरकारले धन्कुटामा र इलाममा गौंडा नामका ठूला प्रशासनिक अड्डा र ताप्लेजुङ्गमा धनकुटा गौंडा मातहतको अमिनी नामको अड्डा राखेका थिए । ताप्लेजुङ्गमा बिभिन्न मुद्धाका मानिसलाई थुनामा राख्ने जेल पनि थियो । जाहाँ अपराध ठहर भई कैद सजाय पाएका र पुर्पक्षका लागि भनी थुनामा राखिएका मानिसहरु हुन्थे ।

सक्रान्ति बजार

गौंडाका हाकिम राणाहरु नै हुन्थे भने अमिनीमा पनि राणाहरु नै वा उनीहरुकै मानिस हाकिम र कारिन्दा हुन्थे । राजधानीमा मात्र नभै गौंडा र जिल्लाहरुमा पनि राणाकै मानिसहरुको मात्र हालिमुहली हुने गरेबाट जनताहरुको राणा सरकारप्रति जनआक्रोस बड्दै गएको समय साथै राणाशासन हटाउन सके पहिले आफ्नो गुमेको राज्यमा अहिले आफूले पाइरहेका सानातिना अधिकारमा अरु ठूला अधिकारहरु पाउने आशले गर्दा पनि लिम्बूहरूले राणा हटाउने संघर्षमा काँग्रेसलाई साथ दिएका थिए ।

२००७ साल कार्तिक महिनामा राजा भागेर दिल्ली गएको कुरा गाउँमा फैलिएपछि गाउँलेहरुमा एकप्रकारको डरको बातावरण शुरु भएको थियो । यस्तैमा एकदिन भोजपुरका १२—१५ राईहरुको हुल आएर ताप्लेजुङ्ग अमिनीको झ्यालखाना(जेल) फोडेर सबै कैदीहरुलाई मुक्त गरेको हल्लाले गर्दा गाउँमा अब के हुने होला भन्ने डर झन् बडेर गयो । सो जेलमा फेदाप खाम्लालुङ्गका एकजना लिम्बू पनि थिए ।

उनी सिटौलाहरुले भोग बन्दकीमा भोगचलनमा लिएको हातीखावा खर्कको स्वाँरो जग्गामा २००३ सालमा घर बनाएको सम्बन्धमा दुईपक्ष बीच झगडाहुँदा खुकुरी प्रयोग गरी ज्यानमार्ने उद्योग गरेको मुद्दामा सजाय पाई कैद भोगिरहेका रहेछन् । यसरी जेलबाट उम्केपछि उनी खाम्लालुङ्ग आएर क्रान्तिको मौका पारी सिटौलाहरु सँगको रिस फेर्ने बिचार गरेका रहेछन् । गाउँका अरु आफ्ना दाजुभाइ, साथीहरुको साथ सहयोगमा राजा र कांग्रेसका पक्षबाट राणाहटाउ अभियानमा लागी बाहुन हरुलाई लखेटी उनीहरुको धन सम्पत्ति लुट्ने घर जग्गा हडप गर्ने भनी खाम्लालुङ्ग बाट शुरु गरेका हुँदा खाम्लालुङ्गमा भएका हामी ५ घर सिटौलाहरु रातारात भागेका थियौं ।

आठराईको संक्रान्ति डाँडामा प्रत्येक महिनाको १ गते संक्रान्ति बजार लाग्थ्यो । जाहाँ आठराईका सबै गाउँ, फेदाप, पांचथर र ताप्लेजुङ्गबाट पनि आसपासका का गाउँलेहरु बजारमा आउँथे ।

यसै सिलसिलामा २००७ सालको पुस १ गते सक्रान्ति डाँडामा बजार लागेको थियो । यही मौकाको फाइदा उठाउँदै फेदाप खाम्लालुङ्गका १०—१२ जना रक्सी खाएर मातिएका लिम्बूहरु दिउँसो १ बजेतिर बजार लागिरहेको डाँडाको चउरको माथि सिह्रानबाट हातमा नाङ्गो खुकुरी नचाउँदै जोड जोडले श्री ५ कि जय, श्री ५ कि जय भन्दै कराउँदै बजारभित्र पसेर यता र उता दौडन थालेपछि सबै भागा भाग भए । यही बेला ती लिम्बूहरुले आठराईका प्रतिष्ठित ब्यक्तिहरु मध्येका एक जनार्दन सिटौला(नेपाले) लाई मार्ने उद्देश्यलेनै खुकुरी प्रहार गरेछन् तर श्रीमति साथैमा भएकी हुँदा कसोकसो गरेर बचाएर भगाइछन् । केही बर्ष नेपालमा( काठमाण्डू) मा पढेर आएको हुंदा गाउँका मानिसहरुले उनको उपनाम नै नेपाले राखेका थिए ।

बजारको दिन भएको हुँदा पुरै आठराईका सबै गाउँका साथै आठराई बाहिरका अन्य गाउँठाउँबाट पनि धेरै मानिसहरु बजार भर्न आएका हुँदा सो दिन बजारमा लिम्बूहरु द्वारा घटाइएको घटनाले गाउँ गाउँमा ठूलै आतंकको माहोल सृजना गरेको थियो । बाहुनहरुको सम्पति लुट्नु पर्छ, उनीहरुलाई लखेट्नु पर्छ भन्नेमा सबै लिम्बूहरु एकमत भने थिएनन् । यसो हुँदा केही लिम्बूको साथ लिएर बाहुनहरुले पनि प्रतिकारमा उत्रने बिचार गरेछन् तर दुबैतर्फका धेरै मानिस मर्न सक्ने हुँदा क्षत्री बाहुनले भएको चल सम्पति लिएर भाग्ने निर्णय गरी राता रात कोही झापातिर कोही धरानतिर भागेछन् ।

त्यसैको परिणति हो आज झापा, सुनसरी र मोरङ्ग जिल्लामा आठराई थुमलगायत लिम्बूवानका फेदाप, छथर र पांचथर लगायतका अन्य थुमका गाउँहरुका बाहुन क्षत्रीहरुको बाक्लो बस्ती भएको । अहिले तत्कालीन पल्लो किराँतका सत्रै थुमका अधिकांश क्षेत्री बाहुनहरु पाहाडको घरबारी खेत सबै छोडेर मधेसमा बसोवास गरिरहेका छन् ।

(लेखक अमेरिकाको मेरिल्याण्डस्थित इण्डियन हेड शहरमा बसोबास गर्छन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *