अमेरिकामा नेपाली विद्यार्थीका समस्याहरुबारे यसरी गरियो बृहत छलफल

डिसी नेपाल
१७ फागुन २०७६ ५:४४

मिलनजंग कटुवाल
गत आइतवार फेबु्रअरी २३ को सांझ अमेरिकाको टेक्सास राज्यमा वृहत नेपाली युवा सम्मेलन सम्पन्न भयो । युनिभर्सिटी अफ टेक्सास आर्लिंगटन (युटिए) मा संचालन भएको उक्त कार्यक्रम विगतमा हुने गरेका समारोहभन्दा भिन्न थियो । कारण, एन.आर.एन.ए को युथ टास्कफोर्सद्वारा आयोजित यस कार्यक्रममा सह—आयोजकका रुपमा विद्यार्थीहरुलाई पनि समेटिएको थियो । युनिभर्सिटी अफ लुजियाना, मनारो र युनिभर्सिटी अफ टेक्सास आर्लिंगटनका विद्यार्थीहरु एकवद्द भएर एन.आर.एन.ए को कार्यक्रममा सहभागिता जनाएको यो नै पहिलो अवसर थियो । मिसौरी राज्यको विचिटा राज्यबाट पनि विद्यार्थीहरु सहभागी हुन आएको कार्यक्रमका संयोजक सन्देश उप्रेतीले जानकारी दिए ।

कार्यक्रमको लागि अतिथिहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । नौलो कुरा के भने, कार्यक्रममा सबै उमेर समूह, सबै स्टाटसका अतिथिहरु एउटै मन्चमा सामेल भएका थिए । कार्यक्रममा विद्यार्थी एवम् युवाहरुको समस्याबारे वहस गर्न बेग्लै अन्तक्र्रियाको सेसन समावेस गरिएको थियो । उक्त सेसनमा अमेरिकाका लागि नेपालका राजदुत डा अर्जुन कार्की, एन.आर.एन.ए आईसीसीका सचिव गौरीराज जोशी, एन.आर.एन.ए अमेरिकाका वर्तमान अध्यक्ष सुनिल शाह, निवर्तमान अध्यक्ष केशव पौडेल र विद्यार्थी प्रतिनिधिलाई प्यानलमा निम्त्याइएको थियो । ढाका टोपी र दौरा सुरुवालमा सजिएर आएका जुनियर हाइ स्कुल अध्ययनरत १४ वर्षीय विद्यार्थीदेखि अमेरिकामै जवानी कटाएका थुप्रै परिपक्क अतिथिहरुको उपस्थिति साँच्चै लोभलाग्दो थियो ।

समस्याहरु छलफल गरिएको पहिलो सेसनमा अतिथि र उपस्थित विद्यार्थीहरुबाट प्रश्न लिएर प्यानल समक्ष राखिएको थियो । अमेरिकामा रहने आप्रवासी नेपालीहरुका विभिन्न समस्या र विद्यार्थीको चासो बारे गुणात्मक छलफल गरिएको थियो । नेपाली विद्यार्थीहरुले दुतावासमा आफूहरुले धेरै समस्या झेल्नु परेको र सेवा पाउन ढिलासुस्ती खेप्नु परेको गुनासो पोखेपछि महामहिम राजदुत डा. कार्कीले विद्यार्थीहरुको लागि बेग्लै सम्पर्क इमेलको व्यवस्था गर्ने प्रतिबद्दता जनाउनु भएको थियो । त्यसैगरी युवा—विद्यार्थी टास्कफोर्सले आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्ने क्रममा आर्थिक समस्या झेल्नु परेको गुनासो आएपछि एन.आर.एन.ए अध्यक्ष सुनिल शाहले मन्चबाटै ’प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’को घोसणा समेत गर्नु भएको थियो । सिड मनीका रुपमा उहाँले व्यक्तिगत २ हजार डलर सहयोग पनि गर्नु भयो ।

कार्यक्रममा मोटिभेसनको दोश्रो महत्वपूर्ण सेसन पनि थियो । उक्त खण्डमा युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा रिसर्चमा संलग्न डा. तारा सिग्देल, लिबर्टी म्युचुअल इन्सुरेन्समा डाटा साइन्सका निर्देशक सिजर कोइराला र संविधान सभा सदस्य धनराज गुरुङ ज्युलाई प्यानलमा निम्त्याएर विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल भयो । युवा विद्यार्थीले सफलताको आधार कसरी पहिल्याउन सक्छन् भन्ने आत्मविश्वास बढाउनका निम्ति सहयोगी बन्न सकोस् भन्ने अभिप्रायले आयोजित यस युवा सम्मेलनमा प्यानलमा आसिन अतिथिहरुलाई प्रश्न गर्न उपस्थित विद्यार्थीहरु उत्सुक देखिन्थे ।

कार्यक्रममा युटिएमा अध्ययनरत विद्यार्थीहरुले विशेष नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले पनि मनोरन्जनात्मक प्रस्तुति दिएका थिए । सबैको समान सहयोग प्राप्त भएको कारण नै कार्यक्रम उत्कृस्ट साबित भएको भन्दै संयोजक संदेश उप्रेतीले प्रशन्नता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *