कोरोनाको चपेटामा भ्रमण वर्ष २०२०, विदेशमा गरिने कार्यक्रम स्थगित

डिसी नेपाल
१७ फागुन २०७६ १५:५८

काठमाडौं। नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रमहरु स्थगित गरिएको छ।

कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकार केन्द्रित भएको जानकारी दिए।

परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडि बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए। कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए।

विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उनले बताए। उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवद्र्धनको काममा बढी केन्द्रीत हुन्छौँ। आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउँछौँ। जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवद्र्धनात्मक काममा अगाडि बढ्छौँ।’

कोरोनाले विश्वका शक्ति राष्ट्रहरुको व्यापार व्यवसाय, उद्योगधन्दामा पनि असर गरेको उनले बताए। भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडि बढेपनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो। वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटकहरुको संख्यामा कमि आएको थियो।

नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा सरकारले कडाई गरेको छ। मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *