एकजनालाई कोरोनाभाइरस पुष्टि हुँदा इजरायलमा दर्जनौँ फुटबल दर्शकलाई क्वारन्टाइनमा बस्न आग्रह

डिसी नेपाल
२१ फागुन २०७६ २०:००

बीबीसी । इजरायलको तेल अभिभ सहरमा गत साता भएको एउटा फुटबल खेल हेर्न पुगेका दर्जनौँ दर्शकलाई स्वयं अलग्गिएर बस्न अर्थात् सेल्फ क्वारन्टाइनमा रहन आदेश दिइएको त्यहाँको समाचार वेबसाइट वाइनेटले जनाएको छ।

मक्काबी तेल अभिभ तथा हापोएल तेल अभिभ टोलीबीच भएको खेलका एकजना किशोर दर्शक कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको इजरेलको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।

ती किशोरलाई एउटा खेलौनाको पसलका व्यवस्थापकबाट सङ्क्रमण सरेको ठानिएको छ। ती व्यवस्थापक हालै इटली गएका थिए। उनी पनि सङ्क्रमित पाइएका छन्। ती किशोर अहिले घरमै अलग्गिएर बसेको उनकी आमाले बताइन्। उनलाई रुघाखोकी लागेको तर ज्वरो नआएको उनले बताइन्।

उनलाई सङ्क्रमण भएको पाइएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा हजारौँ अन्य दर्शकलाई क्वारन्टाइनमा बस्न भनेको थियो, तर त्यसको चर्को विरोध भएपछि उसले अलग्गिएर बस्नुपर्नेहरूको सङ्ख्या घटायो।

इटलीको सरकारले त्यहाँका सबै स्कुलहरू मध्य मार्चसम्म बन्द गरिने योजनाबारे छलफल गरिरहेको बताइएको छ। कोरोनाभाइरस सङ्क्रमण रोक्ने तरीकाबारे भइरहेका छलफलमा स्कुल बन्दको विषय पनि उठेको बताइएको छ।

इटलीमा २५ सय जनामा उक्त सङ्क्रमण देखिएको छ भने ७९ जनाको ज्यान गएको छ। यसबीच इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप १५ जनाको ज्यान गएको छ। त्यहाँ कुल ९२ जनाको ज्यान गएको छ।

यूकेमा अस्पतालहरूलाई सङ्क्रमणको जोखिम न्यून गर्न भिडिओ लिंकमार्फत् परामर्श दिन भनिएको छ। विश्व ब्याङ्कले सङ्क्रमणविरुद्ध लड्न विकासोन्मुख राष्ट्रहरूलाई सघाउ पुर्‍याउन १२ अर्ब डलरको प्याकेज घोषणा गरेको छ।

हाल विश्वभर ९० हजारभन्दा धेरैलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। अधिकांश सङ्क्रमण चीनभित्र भएका छन्। तीन हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *