टि–२० विश्वकपमा भारतलाई चिठ्ठा पर्‍यो, सेमिफाइनल खेल्दै नखेली फाइनलमा

डिसी नेपाल
२२ फागुन २०७६ १२:०८

काठमाडौं। अस्ट्रेलियामा जारी महिला टि–२० विश्वकपमा भारतलाई चिठ्ठा परेको छ । आज सिड्नीमा हुनुपर्ने सेमिफाइनलमा पानी परेर खेल रोकिएपछि भारत सिधै फाइनल पुगेको हो ।

आज भारतले सेमिफाइनलमा इङल्याण्डको सामना गर्नुपर्ने थियो जसलाई भारतले टि–२० विश्वकपको इतिहासमा विगतका ५ प्रतिस्पर्धामा कहिल्यै हराउन सकेको थिएन । तर, वर्षाले खेल रोकिएपछि भारत टि–२० विश्वकपको इतिहासमै पहिलो पटक फाइनल पुगेको छ ।

अब भारतले आजै हुने अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अर्को सेमिफाइनलको विजेतासँग अन्तर्राष्ट्रिय महिला दिवसका दिन मार्च ८ मा मेलबर्नमा फाइनल खेल्नेछ । यद्यपि आज नेपाली समयअनुसार पौने २ बजे सुरु हुने दोस्रो सेमिफाइनल पनि रद्द हुने सम्भावना छ किनकि यो खेल पनि सिड्नीको त्यही मैदानमै हुनुपर्नेछ जहाँ पहिलो सेमिफाइनल वर्षाका कारण रद्द भयो ।

समूह चरणको खेलमा भारत आफ्नो समूहमा अंक तालिकाको शीर्षमा र इङल्याण्ड अर्को समूहमा अंक तालिकाको दोस्रो स्थानमा थिए । अंक तालिकामा अगाडि भएका कारण भारत फाइनल गुगेको हो । अर्को खेल पनि रद्द भएको अवस्थामा दक्षिण अफ्रिका अंक तालिकाको शीर्षमा रहेका आधारमा फाइनल पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *