महिला लिगको खेल तालिका सार्वजनिक, एक टिमले ४ विदेशी खेलाडी राख्न पाउने

डिसी नेपाल
२२ फागुन २०७६ १७:११

काठमाडौं । उप मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी टिमले विदेशी खेलाडी राख्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै सहभागिता जनाउने टिमले विदेशी खेलाडी राख्न पाउने जनाएको छ ।

एन्फाले २३ खेलाडीमध्ये ४ विदेशी खेलाडी टिममा राख्न पाउने जनाएको हो । यस्तै क्लबको अफिसियलमा एक महिला हुनै पर्ने एन्फाले जनाएको छ । प्रतियोगितामा तीन विभागीय टिमसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका, विराटनगर महानगर, चौदण्डी नगरपालिका र वालिङ नगरपालिकाले खेल्ने छन् ।

चैत पहिलो साताबाट सुरु हुने लिग तीन चरणमा खेलाईने छ । पहिलो चरणको खेल धरानको धरान रंगशालामा चैत ३ देखि १३ सम्म आयोजना हुनेछ । यस्तै दोस्रो चरणको खेल काठमाडौंमा वैशाख ७ देखि १७ र तेस्रो चरणको खेल विराटनगरको सहिद रंगशालामा जेठ १८ देखि असार ५ सम्म हुने एन्फाले जनाएको छ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल ४२ खेल हुनेछ । लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।

फेयर प्ले टिमले १ लाख ५ हजार र सर्वोकृष्ट खेलाडीले स्कुटर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको तयारीका लागि एन्फाले सहभागी टिमलाई एक एक लाख दिनेछ ।

खेल तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *