महिला राष्ट्रिय हक्कीको उपाधि प्रदेश नं ५ लाई

डिसी नेपाल
२२ फागुन २०७६ १९:४०

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि प्रदेश नं ५ ले जितेको छ ।

नेपाल हक्की सङ्घको आयोजनामा यही फागुन १७ गतेदेखि पोखरा रङ्गशालाभित्रको आर्चरी खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि १–० को जित निकाल्दै प्रदेश नं ५ ले उपाधि जित्न सफल भएको हो ।

विभागीय टोली आर्मीमाथि सङ्घर्षपूर्ण जित निकाल्ने क्रममा उपाधि विजेता टोलीका सुशीकुमारीले खेलको ५८औँ मिनेटमा निर्णायक गोल गरिन् । प्रदेश नं ५ ले उपाधिसहित रु ५० हजार, ट्रफी तथा मेडल पुरस्कार प्राप्त ग¥यो भने उपविजेता आर्मीले रु ३० हजार, ट्रफी र मेडल पायो ।

गण्डकी प्रदेशलाई पराजित गरेको सुदुरपश्चिम प्रदेशले रु १५ हजार तथा ट्रफी पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेशका सोनु बराल उदयीमान खेलाडी तथा गण्डकीकै देविका विक सर्वाधिक गोलकर्ता घोषित भईन् । उत्कृष्ट गोलकिपर सुदुरपश्चिमका करुणा दलार्मी तथा सर्वोत्कृष्ट खेलाडी प्रदेश नं ५ का सुशीकुमारी घोषित हुँदै जनही रु दुई हजार ५०० तथा ट्रफी प्राप्त गरिन् ।

विजेता टोली तथा खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश लेखा समितिका सभापति एवं पूर्वमन्त्री कुमार खड्काले खेलकूदले देशलाई एकताबद्ध बनाउने कार्य गरेकाले खेल पूर्वाधार विकासमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सरकारले विशेष ध्यान दिन आग्रह गरे ।

प्रतियोगितामा प्रदेश नं ५ सहित आर्मी, सुदुरपश्चिम, गण्डकी, प्रदेश नं २ र प्रदेश नं १ को सहभागिता थियो । आगामी वर्ष पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदलाई सघाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल खड्काले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *