खेल नजिती विश्वकप जित्ने पनि इङल्याण्ड, खेल नहारी विश्वकपबाट बाहिरिने पनि इङल्याण्ड

डिसी नेपाल
२३ फागुन २०७६ ११:५१

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को नियमका कारण इङल्याण्डको महिला क्रिकेट टिम टि–२० विश्वकपबाट बाहिरिएको छ । अस्ट्रेलियाको सिड्नीमा हुने सेमिफाइनलमा बुधबार इङल्याण्डले भारतसँग खेल्नुपर्ने थियो जोसँग इङल्याण्डले टि–२० विश्वकपमा अहिलेसम्म हारेको छैन । तर, वर्षाका कारण खेल हुन नसकेपछि खेल रद्द भयो । आइसीसीले सेमिफाइनलको लागि रिजर्भ दिन राखेको थिएन । खेल हुन नसकेपछि समूह चरणमा तालिकाको शीर्षमा भएका कारण भारत सिधै फाइनल पुग्यो र इङल्याण्ड प्रतियोगिताबाट बाहिरियो ।

नियमका कारण इङल्याण्ड दुर्भाग्यपूर्ण तरिकाले बाहिरिनुपर्यो तर २०१९ को पुरुष एकदिवसीय विश्वकपमा भने नियमले नै इङल्याण्डलाई पहिलोपटक विश्वकप विजेता बनाएको थियो । त्यतिबेला इङल्याण्डले फाइनल खेल जितेको थिएन तर नियमकै कारण ऊ च्याम्पियन बनेको थियो । फाइनलमा भएको ५० ओभरको खेल र सुपरओभर पनि बराबरी भएपछि अन्ततः बाउण्ड्री गणनाका आधारमा इङल्याण्डलाई च्याम्पियन घोषणा गरिएको थियो र न्यूजिल्याण्ड दुर्भाग्यपूर्ण तरिकाले उपाधिबाट बञ्चित भएको थियो । यसको निकै आलोचना भएपछि आइसीसीले अहिले यो नियम बदलिसकेको छ । नयाँ नियमअनुसार अब सेमिफाइनल र फाइनलमा स्पष्ट हारजीतको नतिजा नआउँदासम्म सुपरओभर जारी रहनेछ ।

अहिले इङल्याण्डको महिला टिम दुर्भाग्यपूर्ण तरिकाले बाहिरिएपछि बाउण्ड्री गणनाजस्तै रिजर्भ दिनको नियम पनि परिवर्तन गर्नुपर्ने माग उठेको छ । सेमिफाइनलभन्दा पहिले अस्ट्रेलियाको क्रिकेट बोर्डले पनि आइसीसीसँग रिजर्भ दिन राख्न माग गरेको थियो तर प्रतियोगिताको अवधि लम्बिने भन्दै आइसीसीले रिजर्भ दिन राख्न अस्वीकार गर्यो जसको दुखद परिणाम इङल्याण्डले भोग्नुपर्यो ।

इङल्याण्डकी कप्तान हैदर नाइट पनि प्रतियोगिता रद्द भएपछि निकै दुःखी थिइन् । उनले पनि नियम परिवर्तन गर्न माग गरिन् । उनले भनिन् ‘हामी प्रतियोगिताको नियमबाट बाँधिएका छौं तर भविष्यमा कुनै अर्को टिम नियमको कारण विश्वकपजस्तो प्रतियोगिताबाट दुर्भाग्यपूर्ण तरिकाले बाहिरिनु नपरोस् ।’ भारतीय कप्तान हरमनप्रीत कौरले पनि पहिलो पटक विश्वकपको फाइनल पुग्न पाउँदा खुसी भएको भए पनि खेल नै नभइ पुग्दा केही असहज महसुस भएको बताइन् । उनले भविष्यमा नकआउट खेलका लागि रिजर्भ दिन राख्नुपर्ने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *