सुर्खेतबाटै सवारी चालक अनुमतिपत्रः आफ्नै ट्रायल सेन्टर नहुँदा सीप परिक्षणमा झन्झट

डिसी नेपाल
२४ फागुन २०७६ १२:१३

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरणसँगै राजस्व संकलन बढेको छ । चालु आर्थिक वर्षको गत महिनादेखि सुर्खेतबाटै नयाँ सवारी लाईसेन्स वितरण हुन थालेपछि राजस्व संकलन ह्वात्तै बढेको हो ।

यसअघि कर्णालीवासीले सवारी साधनको लाईसेन्स लिन बाँकेको नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य गर्दै सुर्खेतबाटै लाईसेन्स वितरण सुरु गरिएपछि आन्तरिक राजस्व बढ्न थालेको हो ।

जसअनुसार गत आर्थिक वर्षको तुलनामा यसवर्ष दोव्वर राजस्व असुली हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको आठ महिनाभित्र मात्रै झण्डै आठ करोड राजस्व संकलन भएको हो ।

गत साउन महिनादेखि पुस मसान्तसम्म सात करोड ३८ लाख ३५ हजार राजस्व संकलन भएको थियो। तर सवारी लाईसेन्स वितरण कार्य सुरु भएपछि माघ महिनामा मात्रै ९९ लाख ९२ हजार १४ रुपैंया राजस्व संकलन भएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख आनन्द चपाईले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जम्मा नौ करोड ७१ लाख ५६ हजार राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षको आठ महिनाभित्रै झण्डै आठ करोड राजस्व संकलन भएपछि यस वर्ष गत वर्षको तुलनामा दोव्वर राजस्व असुली हुने अनुमान गरिएको हो ।

सवारी दर्ता, नविकरण, नामसारी, ब्लुबुक प्रतिलिपि, बाटो इजाजतपत्र नविकरण तथा प्रतिलिपि र जाँचपास प्राविधिक परिक्षण तथा प्रतिलिपि, सवारी साधन कर लगायतका शिर्षकमा राजस्व संकलन भइरहेको छ । सुर्खेतबाटै नयाँ सवारी लाईसेन्स वितरणसँगै राजस्व संकलन हुन थालेपछि स्थानीयवासीलाई समेत सहज भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *