यो सरकार सफल नभए समाजवाद आउँदैन : नारायणकाजी

डिसी नेपाल
२४ फागुन २०७६ १६:१०

काठमाडौं। नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन्।

प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताए।

“सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, मुलुकको सामाजिक र आर्थिक रुपान्तरण हुन सक्दैन, वैदेशिक हस्तक्षेप वृद्धि र प्रतिगमनमा खतरा उत्पन्न हुनसक्छ”, उनले भने।

प्रवक्ता श्रेष्ठले पार्टीलाई विग्रहमा लैजाने वा एकतालाई खलबलाउने कुनै पनि कुरा छुट दिन नहुने भन्दै सरकारले सुशासन र विकासमार्फत समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिए।

उनले यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारलाई आह्वान गर्दै मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेका भूमिका असाधारण रहेका चर्चा गर।े।

पार्टी र सरकारलाई तीव्रगतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणका लागि सक्रिय हुनुहुनेमा विश्वास व्यक्त गर्दै उनले सूचना प्रविधिको विकाससँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको जनाए।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनीतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार रहेको बताए।

उनले जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको विचारलाई हाल थाति राखी समाजवादोन्मुख जनताको जनवादलाई कार्यक्रमका रुपमा अघि सारको स्पष्ट गरे।

नेकपाका स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश कमिटीका इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनतालाई यथार्थपरक सूचना प्रवाह गरी प्रेस सङ्गठनलाई जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन्।

पत्रकारिता क्षेत्रमा महिला पत्रकारको सहभागिता बढाउनुपर्ने भन्दै उनले सङ्गठन तथा पार्टीलाई समानुपातिक तथा विभेदमुक्त बनाउनुपर्ने बताइन्।

प्रेस सङ्गठनका इञ्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले सङ्गठनका पत्रकारले पार्टी र सरकारको सकारात्मक आलोचनासमेत आवश्यक रहेको औंल्याउँदै समस्यालाई आन्तरिक छलफलका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए।

पार्टीका केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सङ्गठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टी नै प्रेरणाको स्रोतका रुपमा हुनुपर्ने बताए।

उनले सञ्चार क्षेत्रमा विभिन्न प्रकारका सुधारका बारेमा सङ्गठनले विगत लामो समयदेखि बहस चलाउँदै आएको र सरकारले सोहीअनुसार संस्थागतरुपमा कानूनी आधार तयार गरेको बताए।

उनले संविधानसँग बाझिने कुनै पनि कानून नबन्ने उल्लेख गर्दै बनेमा पनि अदालतले खारेज गर्ने स्पष्ट संवैधानिक अधिकार रहेको स्पष्ट पारे।

नेकपा वग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले वाग्मती प्रदेशले सबै सङ्गठन एकताका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै पार्टीलाई आम नेपाली जनताका बीचमा सुदृढ तथा एकताबद्ध बनाउँदै लैजाने बताए।

सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रदेश तथा जिल्लाका सदस्यलाई शपथ ग्रहण गराउँदै पार्टीअनुसार सङ्गठन गतिशील र एकीकृत ढङ्गले अघि बढेको उल्लेख गरे। पार्टी, सरकार र जनताबीच जोड्ने महत्वपूर्ण जिम्मेवारी प्रेस सङ्गठनको रहेको उल्लेख गर्दै उनले पार्टी र सङ्गठनको एजेण्डा गतिशील र उत्कृष्ट हुनुपर्नेमा जोड दिए।

न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष राजेन्द्र अर्यालले प्रेस सङ्गठनले श्रमजीवी पत्रकारको आन्दोलनलाई उच्च प्राथमिकता तथा मागलाई पूरा गर्न आफ्नो पूर्ण साथ र सहयोग हुनेसमेत प्रतिबद्धता जनाए।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, सङ्गठनका सहसंयोजक गणेश बस्नेत, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्ट, सङ्गठनका नेता बलराम थापालगायतले वर्ग सङ्घर्षको लामो लडाईमा प्रेस सङ्गठनले समाजवादी यात्राको पार्टी तथा सरकारको सङ्कल्पमा साथ र सहयोग गरी अघि बढ्ने उल्लेख गरे।

कमिटीका सहसंयोजक प्रकाश सिलवालका अनुसार प्रदेश कमिटीका ६५, काठमाडौँका ४१, ललितपुरका ३७ र भक्तपुरका २९ सदस्यीय कमिटीका सदस्यलाई शपथ दिलाइएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *