छायाँनाथ राराका प्रमुख र नगरपालिकाविरुद्धकाे अन्तरिम आदेश खारेज

डिसी नेपाल
३० फागुन २०७६ १६:१६

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफनो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजलास जुम्लामा दर्ता गराएको मुद्दामा यसअघि दिइएको अन्तरिम आदेश खारेज भएको छ।

गएको फागुन १८ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासमा उप प्रमुखको अधिकार नगरपालिकाले खोसेको भन्दै उपप्रमुख रोकायाले नगर प्रमुख र नगरपालिकालाई विपक्ष बनाई मुद्दा दर्ता गराएकी थिइन्।

उच्च अदालतले बुधबार विपक्ष नगरप्रमुख हरिजंग शाही र नगरपालिकालाई प्रमाण सहित उपस्थित हुन र दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

उपप्रमुख सुन्तला रोकायाका पक्षमा अधिबत्ता मोहन विक्रम अर्थाल र मिन बहादुर महत र प्रमुख हरिजंग शाही र नगरपालिकाका तर्फबाट अधिबत्ता कुवेरजंग शाहीले बहस गरेका थिए। दुवै पक्षका अधिबक्ताहरुको बहस र प्रमाणहरु हेरी सकेपछि बुधबारै उच्च अदालत सुर्खेत इजलास जुम्लाले गत १८ गते जारी गरेको अन्तरकालिन अन्तरिम आदेशलाई निरन्तरता दिई रहनु नपर्ने भन्दै परेन भन्दै उक्त आदेश खारेज गरेको हो। उच्च अदालतको फैसलाबारे शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

यस्तै वडा नं ९ का वडा अध्यक्ष मणिचन्द रोकायाले छायाँनाथ रारा नगरपालिकाले सूचना गरी प्रक्रियामा अघि बढाएको नगर प्रहरीको भर्ना प्रक्रिया रोकी पाउँ भन्दै अदालतबाट जारी गराएको अन्तरिम आदेश पनि खारेज भएको छ।

उच्च अदालतले दुबै अन्तरिम आदेश खारेज गरेसंगै नगरपालिकाका रोकिएका योजनाहरुको भुक्तानी र नगर प्रहरी छनोटको बाटो खुला भएको छ।

छायाँनाथ रारा नगरपालीका भित्र रहेका योजनाको आर्थिक बर्ष २०७४ साल देखि हालसम्मका योजनाको अनुगमन गर्ने जिम्मा नगर उप्रमुखको भएको भए पनि नगरप्रमुखले अधिकार खोसी छायाँनाथ रारा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष चक्र बहादुर सावतको संयोजकत्वमा योजना अनुगमन समिति बनाई योजनाहरुको भुक्तानी दिने गरेको आरोप लगाउँदै उप प्रमुख रोकायाले रिट दायर गरेकी थिइन्।

यता नगरप्रमुख हरिजंग शाहीले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार उपप्रमुखलाई दिइएको अधिकार कसैले नखोसेको बताउँदै आएका थिए।

प्रमुख शाहीले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतले आ–आफनो काम कर्तव्य र अधिकारमा रही काम गरेमा नगरपालिका सामान्य तरिकाले अगाडि बढने र नगर कसरी चल्ने चलाउने त्यो नगर उप प्रमुख कै व्यवहारमा भर पर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *