रिसेप्सनमै चोरी भएको आफ्नो बिहेको फोटो दम्पतीले ३५ वर्षपछि देख्न पाउँदा…

डिसी नेपाल
१ चैत २०७६ ९:३३

योर्कशायर। उत्तरी इङल्याण्डको लिड्स वेस्ट योर्कशायरमा एक दम्पतीको बिहेको फोटो बिहेको रिसेप्सनकै दिन रोल ब्यागको साथमा चोरी भएको थियो । ३५ वर्षपछि उनीहरुका ती फोटो कसैले फेसबुकमा शेयर गरिदिए । त्यसपछि मात्र उनीहरुले आफ्नो बिहेको फोटो देख्न पाए । यो दम्पतीले यही आउँदो जुलाइमा बिहेको ३५ औं एनिभर्सरी मनाउँदैछन् ।

६० वर्षका मिक र ५५ वर्षकी ट्रेसीका अनुसार १९८५ मा उनीहरुको बिहेको रिसेप्सनको क्रममा दुई चोरले उनीहरुका आफन्त केरल विलियमको हातबाट ह्याण्डब्याग चोरेर भागेका थिए । उनीहरुले चोरलाई समात्ने प्रयास पनि गरेका थिए र चोरहरुसँग ब्याग खोसाखोस पनि भएको थियो तर चोरहरु ब्यागसहित भाग्न सफल भए । त्यसपछि उनीहरुले ब्याग भेटिने आशा त्यागेका थिए । ब्यागमा नगद, गहनाको साथमा उनीहरुको बिहेको फोटोहरु भएको नेगेटिभको रोल पनि थियो । चोरहरुले क्यारेरा, नगद र गहना निकालेपछि ब्यास सडकछेउमा फालिदिएका थिए ।

डेलिमेलको समाचार अनुसार एक युवती एन्जी मखेलले सडकछेउ फालिएको फोटोको नेगेटिभ रोल भेटिन् । एन्जीले त्यसलाई लिएर आइन् र फोटो धुलाइन् । एन्जीले फोटो देखेपछि कसैको बिहेको फोटो भन्ने थाहा पाइन् र उनीहरुका लागि यो महत्वपूर्ण हुन सक्ने ठानेर सम्हालेर राखिन् । उनले फोटो बक्समा राखेकी थिइन् तर उनले यसबारे बिर्सिएकी थिइन् ।

हालै उनी नयाँ घरमा सर्ने क्रममा सामान सार्दा यो बक्स भेट्टाइन् । एन्जीले केही फोटोहरु फेसबुकमा शेयर गरिदिइन् । उनले क्याप्सनमा लेखेकी थिइन् ‘यदि कसैले उहाँहरुलाई चिन्नुहुन्छ भने कृपया मलाई सम्पर्क गर्नुहोस् ।’ फोटो फेसबुकमा पोट हुनासाथ धेरैले फोटो शेयर गरे । यही क्रममा ट्रेसीका एक आफन्तले फोटो देखेपछि ट्रेसीलाई जानकारी दिए । ट्रेसीले एन्जीसँग सम्पर्क गरिन् र आफ्नो ठेगाना दिइन् ।

एन्जी फोटो फाइल लिएर लिड्स पुगिन् । मिक र ट्रेसीले फूलको बुके दिएर उनको स्वागत गरे । दम्पतीका अनुसार उनीहरुले सबै फोटो प्राप्त गरेका छन् । फोटोमा भएका केही परिवारका सदय भने अब संसारमा छैनन् तर फोटोमा भने ती सबै दिवंगत सदस्यलाई हाँसिरहेको देख्न पाउँदा दम्पती खुसी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *