जसले महलमा बस्ने अरबपतिहरुलाई बंकरभित्र पुर्‍याइदियो, धमाधम बंकर बुक भइरहेछन्

डिसी नेपाल
१ चैत २०७६ १०:०३

काठमाडौं। कोरोनाभाइरसको महामारी १४५ देशमा पुगिसकेको छ । यसले सिंगो विश्वलाई आतंकित बनाएको छ । यसको आतंक यतिसम्म छ कि आलिशान महलमा बस्ने अरबपतिहरुले अण्डरग्राउण्ड बंकरभित्र लुक्ने तयारी गरिरहेका छन् । अमेरिका, बेलायत र युरोपेली देशका धनाढ्यहरुले प्राइभेट जेट, बंकर र अण्डरग्राउण्ड शेल्टर बुक गरिरहेका छन् ताकि संकट बढेको अवस्थामा आफूलाई मानिसहरुबाट अलग सुरक्षित राख्न सकुन् । केहीले त यसको लागि आफ्नो विशेष जेटलाई तयार रहन भनेका छन् ।

द गार्डियनका अनुसार यी अरबपतिहरुले प्राइभेट जेटमा उपचारको लागि निजी डाक्टर र नर्स राख्ने पनि तयारी गरेका छन् ताकि परिवारका सदस्य संक्रमित भएका तत्काल उपचार गर्न सकियोस् । यसको लागि उनीहरु विश्वका उत्कृष्ट डाक्टरहरुको सम्पर्कमा छन् । लण्डनस्थित निजी हार्ले स्ट्रिट क्लिनकका चिफ एक्जीक्युटिभ र मेडिकल डाइरेक्टर मार्क अलीका अनुसार अरबपतिहरुले प्राइभेट कोरोनाभाइरस टेस्टको माग पनि गरेका छन् ।

अलीले भने ‘यस्तो गर्नु हाम्रो लागि सम्भव छैन किनकि डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले सबै परीक्षण एनएचएस र पब्लिक हेल्थ इङल्याण्डबाट मात्र गर्नुपर्ने अनिवार्य गरेको छ । हार्ले स्ट्रिटस्थित एक अन्य क्लिनिकका कर्मचारीले नाम नबताउने शर्तमा भने ‘यस्ता बिरामीका लागि अन्य देशमा प्राइभट कोरोनाभाइरस टेस्ट गर्न सकिन्छ वा उनीहरुका नमूना परीक्षणका लागि अर्को देश पठाउन सकिन्छ ।’ अलीका अनुसार उनका ग्राहकहरु कोभिड १९ को भ्याक्सिनका लागि पनि भनिरहेका छन् तर उनीहरुलाई थाहा छैन कि भ्याक्सिन बन्न अझै लामो समय लाग्छ ।

अमेरिकाको प्राइभेट जेट बुकिङ सेवा प्राइभेटफ्लाइका चिफ एक्जीक्युटिभ एडम ट्वीडेलका अनुसार कोरोनाभाइरस प्रभावित देशबाट अरबपतिहरुको धेरै माग आइरहेको छ । उनीहरु आपतकालीन स्थितिमा घरबाट टाढा जान प्राइभेट जेट चाहन्छन् । प्राइभेटफ्लाइटको लण्डन र अमेरिकामा मुख्यालय छ । ट्वीडेलका अनुसार इटलीमा लकडाउनपछि माग धेरै बढेको छ । बेलायत र अन्य युरोपेली देशबाट बाहिर निस्कनका लागि ग्राहकहरु अग्रिम बुकिङ चाहन्छन् । उनीहरु कुनै पनि मूल्य दिन तयार छन् ।

क्यालिफोर्नियास्थित भूमिगत निर्माण कम्पनी भिभोस ग्रुपका अनुसार विगत एक हप्तादेखि बंकर र अण्डरग्राउण्ड शेल्टर किन्नको लागि मानिसहरु फोन र इमेल गरिरहेका छन् । भिभोसले इण्डियानामा कोल्ड वार बंकरलाई ८० जना बस्न मिल्ने आवासमा बदलेको छ । यसका अलावा कम्पनी दक्षिण डाकोटाको दोस्रो विश्वयुद्धको आयुध डिपोमा ५७५ कंक्रिट बंकरहरुमा स्थान दिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *