कोरोनाको बाहनामा गैंडा गणना स्थगित ?

अज्ञात कारणले भटाभट मरिसके, किन असुरक्षित छन् गैंडा ?

गत बर्ष गैंडा गणना गर्नुपर्ने पूर्व निर्धारित समयलाई हामीले आलेटाले गरेर गुजार्यौं। त्यसको प्रमुख कारण गैंडाहरुको अज्ञात कारणले फटाफट् मृत्यु भइरहेको थियो। गैंंडाको संख्या घट्न सक्ने संभावित भयले हामीले एउटा महत्वपूर्ण परीक्षाबाट पछि हट्ने निर्णय गर्यौं। गैंडाबिद् तथा प्रकृति र संरक्षणप्रेमी राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरु निराश भए।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले एउटा ज्यादै साहसिक र सुन्दर काम गर्यो। पोहोर स्थगित गैंडा गणना गर्नको लागि आवश्यक बजेटको व्यबस्था गर्यो। इतिहासमा पहिलोपटक सरकारी बजेटबाट गैंडा गणना हुने भयो। पंक्तिकार लगायत सबै संरक्षणप्रेमी समुदाय खुशी र हर्षले उत्साहित भयौं।

बिडम्बना गैंडा मर्ने क्रम रोकिएन। त्यसको फिल्ड अध्ययन र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन छानबिन टोली गठन भयो। उक्त टोली फिल्ड अध्ययन गरेर गतहप्ता मात्र काठमाण्डौं फिर्ता भएको छ। आखिर किन सखाप भए त गैंडा?

‘जति लामो डोरी बाटेपनि गाँठो एउटै’ भनेझैं घाँसे मैदानको कमी, पानी–घोल–तालको कमी भनेर प्राकृतिक कारणले गर्दा गैंडाको क्षति भएको प्रतिबेदन आउने कुरामा सबै बिस्वस्त छन्। प्राकृतिक कारणले सबैको फेस सेभिङ हुन्छ। जागिर जोगिन्छ। र, गैंडाको अरु निरन्तर क्षति भइरहन्छ।

ज्यादै अपत्यारिलो र आश्चर्यको कुरा यो वर्षको निर्धारित गैंडा गणना कोरोना भाइरसको नाममा स्थगित गरिएको छ । जव कि नेपाललाई आजका मितिसम्म हामी कोरोनामुक्त देश भनेर गर्व गरिरहेका छौं। अर्को कारण, डढेलोले घाँस, ढड्डी र झाडी डढेन। साथै, घाँसे मैदान सफा र तयार नहुँदा गैंडा देख्न गन्न कठिन हुन्छ भनेर अर्को पुरक कारण पुच्छरमा झुण्ड्याइएको होला जुन हाम्रो आफ्नै दोष हो।

घाँसे मैदान सफा र तयार गर्ने निकुञ्जको नियमित रुटिन काम हो। यो काम वर्षेनी छिटो र राम्रोसँग इमान्दार भएर पूरा गरिसक्नुु पर्ने प्रमुख दायित्व स्थानीय निकुञ्ज प्रशासनको हो। तर यो वर्ष कहीँ नभएको जात्रा हाँडीगाउँमा भएको छ।

घाँसे मैदान व्यबस्थापन र बिस्तारको लागि सबैभन्दा धेरै बजेट छुट्याइएको वर्षमा त्यो बजेट समयमा खर्च गरेर घाँसे मैदान तयार पारिसक्नु पर्ने बेलामा मद्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, सौराहा पर्यटन व्यवसायी र निजी क्षेत्रको सहयोग आह्वान गरेर १ सय हेक्टर घाँसे मैदान तयार गर्न शुरुभएको छ चितवन राष्ट्रिय निकुञ्जमा।

ज्यादै अपत्यारिलो र आश्चर्यको कुरा यो वर्षको निर्धारित गैंडा गणना कोरोना भाइरसको नाममा स्थगित गरिएको छ । जव कि नेपाललाई आजका मितिसम्म हामी कोरोनामुक्त देश भनेर गर्व गरिरहेका छौं। अर्को कारण, डढेलोले घाँस, ढड्डी र झाडी डढेन। साथै, घाँसे मैदान सफा र तयार नहुँदा गैंडा देख्न गन्न कठिन हुन्छ भनेर अर्को पुरक कारण पुच्छरमा झुण्ड्याइएको होला जुन हाम्रो आफ्नै दोष हो।

क्षेत्रीय होटल संघ चितवन सौराहालाई १० हेक्टर, रेवान् (रेष्टुरेण्ट एण्ट बार एशोसियसन) लाई १० हेक्टर, हात्ती तथा जिप बुकिङ सेन्टरलाई १० हेक्टर लगायत अन्य संघ, संस्था, समितिहरुलाई थप हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ चितवन राष्ट्रिय निकुञ्जले। यो बिल्कुल नयाँ अभ्यास र प्रयोग हो।

निकुञ्जको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्नुपर्ने, बन्यजन्तुको बासस्थान शान्त र गोप्य राख्नुपर्ने, निकुञ्जभित्रको सूचना गोप्य राख्नुपर्ने, संरक्षण सिद्धान्तको ख्याल नगरी सबैसँग हारगुहार गरेर तयार पारिने घाँसे मैदानको गुणस्तर कस्तो हुने हो र त्यसबाट कति कोल्याटरल ड्यामेज र भावी संरक्षणमा दूरगामी असर पार्ने हो त्यसको उचित अध्ययन, अनुसन्धान र मूल्यांकन हुनुपर्ने थियो।

सरकारी बजेट खर्च गर्न नसकिरहेको अवस्थामा जस्केलाको प्रयोग गरेर हामीले हाम्रो आन्तरिक काम फच्चे गराउनु कति उपयुक्त, सान्दर्भिक र दिगो हुने हो त्यसको लेखाजोखा गर्नपनि आवश्यक देखिन्छ। यो गैंडा गणनाको वर्ष हो भनेर गतवर्ष यकिन भइसकेपछि सरकारी बजेट खर्च गरेर रातारात युद्धस्तरमा घाँसे मैदान तयार गरिसक्नुपर्ने थियो फागुनको दोश्रो हप्ताभित्र।

चैतको पहिलो हप्ताबाट गैंडा गणनाको काम बिनासंकोच, बिनाअबरोध र बिनाबहाना सम्पन्न गर्नुपर्ने थियो। तर कोरोनाको बहानामा चैत्रको पहिलो हप्तामा शुरु गर्नुपर्ने गणना स्थगित हुँदा गैंडालाई ठूलो अन्याय परेको छ।

किनभने गैंडा व्यापक तनाब र दबाबमा छन्। अशान्त र बेचैन छन्। असुरक्षित छन्। त्यसकै परिणाम हो धेरै गैंडाहरुको मृत्यु भइसकेको छ। गैंडाको तनावयुक्त अवस्थाको फाइदा संरक्षण बिरोधी तत्व (चोरी शिकारी तस्कर) ले उठाउने संभावना प्रवल हुन्छ।

करिब ४० वटा हात्ती परिचालन गरेर सम्पन्न गर्नुपर्ने गैंडा गणनाको काम कठिन र जोखिमपूर्ण छ। अब दिन प्रतिदिन तापक्रम बढेर बैशाख जेष्ठमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म जंगलभित्र एकनाशसंग दिनहुँ खट्न हात्तीहरु र मान्छे दुबैलाई हैरान हुन्छ।

१ करोड भन्दा बढी बिनियोजित बजेट र त्यसको आधा संरक्षण साझेदारहरुको सहयोग बजेट गरेर करिब डेढ करोड रुपैया खर्च गरिसक्नुपर्ने समय गुज्रिने संभावना रहन्छ।

गैंडा गणना अति महत्वपूर्ण र गम्भीर काम हो। हामीले ‘राईनो कन्जरभेसन एक्सन प्लान’ तर्जुमा गरेका छौं। त्यसकै एउटा अभिन्न भाग हो त्यसको गणना। यो एउटा संरक्षण प्रतिबद्धता हो। संरक्षण संकल्प हो। राष्ट्रिय जिम्मेवारी र जवाफदेहिता हो। जसको सुक्ष्म राष्ट्रिय र अन्तर्राष्ट्रिय निगरानी र परीक्षण भइरहेको हुन्छ।

हरेक वर्षको स्थगित र रद्धले हाम्रो संरक्षण प्रतिबद्धता र जवाफदेहिताको सकारात्मक सन्देश बाहिर जाँदैन। पोहोरको नजिरले यो वर्ष पनि गणना स्थगित गर्न मलजल गरेको देखियो।

१ करोड भन्दा बढी बिनियोजित बजेट र त्यसको आधा संरक्षण साझेदारहरुको सहयोग बजेट गरेर करिब डेढ करोड रुपैया खर्च गरिसक्नुपर्ने समय गुज्रिने संभावना रहन्छ।

भविश्यमा यस्तो आलाकाँचो र अपरिपक्व काम हुन नदिन हामी सम्बन्धित निकाय सचेत र सावधान हुनैपर्दछ। राष्ट्रिय संरक्षण उदासिनता झल्किने यस्तो गैह्र जिम्मेवारी काम हामीले गरेर जग हँसाउनु हुँदैन।

स्वस्थ, सुन्दर र पबित्र निकुञ्जभित्र कोरोनाको के फिक्री? व्यर्थमा अबोध र पीडित गैंडाहरुले कोरोना त्रासको शिकार हुनुपर्यो। हामी व्यवस्थापक, संरक्षक, उद्धारक र मालिक भनाउँदा मानवहरु इमान्दार नभएको देखियो।

गैंडा गणनाको काम संख्या निर्धारण गर्ने मात्र होइन। यो समग्र निकुञ्जको एक्स–रे हो। स्क्यानिङ अथवा पोष्टमार्टम गरेर खण्ड खण्ड अवलोकन गर्ने अवसर हो। निकुञ्जको कुना–काप्चा, खोँच, छेंड् खोल्सा, दुलोभित्र पुगेर बिविध पक्षको जानकारी लिने र निचोडमा पुग्ने महत्वपूर्ण र अपूर्व अवसर हो। गैंडा किन भौंतारिएका छन्? गैंडालाई कहाँ कति किन केले घोचेको, बिजाएको र दुःखाएको छ पत्तो लगाउने मौका हो गैंडा गणना।

गैंडाको बासस्थान र सुख दुःखलाई एक एक केलाएर हेर्नै सुन्दर बिधि हो गणना। गैंडा मात्र होइन, बाघ र बाघको आहारा प्रजातिको अवस्था के छ? अन्य प्रजातिका जीवजन्तुहरुको अवस्था के छ? गोही, माछा, जलचरको अवस्था के छ ? पंक्षीहरुको अवस्था के छ? घाँसे मैदान, पानी, ताल, तलैया र घोलको अवस्था के कस्तो छ सबै कुराको बिश्लेषण गर्न र निष्कर्षमा पुग्न गैंडा गणनाले मद्धत गर्दछ। गैंडा लगायत बन्यजन्तुबिज्ञहरुको लागि यो एउटा नवीन अध्ययन, अनुसन्धान र खोजको महत्वपूर्ण अवसर हो।

राष्ट्रिय राष्ट्रिय निकुञ्जको समग्र संरक्षण, अवस्था कस्तो छ ? चुनौतीहरु के कस्तो छैन? र, चोरी शिकारी, अतिक्रमण, काठतस्करी, नदीजन्य जलचरहरुमाथिको खतरा र अन्य श्रोत साधनको कव्जा थाहा पाउने अर्को महत्वपूर्ण अवसर हो गैंडा गणना। तसर्थ, गैंडा गणनामा यथासक्य प्रोटेक्सन युनिट कमाण्डर, नभए अपरेशन अधिकृत गणना अवधिभरी निरन्तर हौदामाथि स्वउपस्थित भएर निकुञ्जको एक्स–रे गर्नुपर्दछ।

आलो पालो गर्ने अथवा तामझाम् र प्रचारमुखी उदघाटन तथा समापन समारोहमा उपस्थिति जनाएर गैंडा गणनामा सरिक भएँ भन्नु प्रकृतिप्रतिको बेइमानी र पाप लाग्ने कुरा हो। खर्चिला र भड्किला प्रचार प्रसारमुखी त्यस्ता उद्घाटन समापन कार्यक्रम अब हामीले बन्द गरेर भरपर्दो र बिश्वसनीय काम गरेर देखाउन बिलम्ब गर्नुहुँदैन।

पूर्व निर्धारित समयमा काम तामेली गरिसक्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ। परिणाम जेसुकै आओस् । नराम्रो परिणामलाई सहस्र स्वीकार गर्नुपर्दछ। अनि त्यसबाट पाठ सिकेर भविष्यमा सही नीति, सही कार्यक्रम र सही मार्ग अवलम्बन गरी अगाडि बढ्नुपर्दछ। त्यसो भएमात्र आशातित् नतिजा हात लगाउन सकिन्छ।

पछिल्लो गणनाअनुसार नेपाल मा ६३५ गैंडा छन्। हाम्रा दूरदर्शी अग्रज संरक्षणबिद्हरुको पहल र प्रयासमा चितवन राष्ट्रिय निकुञ्ज मूलघरका गैंडालाई स्थानान्तरण गरेर बर्दिया र शुल्काफाटा राष्ट्रिय निकुञ्जमा सफलतापूर्वक बिस्तार गर्ने काम भइसकेको छ। तसर्थ, गैंडा गणना हुँदा यी तीनैवटा निकुञ्जहरुमा एकसाथ गणना शुरुहुने थियो।

गैंडा गणनाको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको हो। स्थगित वा रद्दको स्वीकृति र अनुमोदन दिने काम वन तथा वातावरण मन्त्रालयको हो। स्थगित गर्ने प्रस्ताव र स्वीकृती दुबैमाथि पुनरावलोकन हुन जरुरी थियो।

जुन अहिले एक्कासी स्थगित गरिएको छ। गैंडा गणनाको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको हो। स्थगित वा रद्दको स्वीकृति र अनुमोदन दिने काम वन तथा वातावरण मन्त्रालयको हो। स्थगित गर्ने प्रस्ताव र स्वीकृती दुबैमाथि पुनरावलोकन हुन जरुरी थियो।

यसका बेफाइदा दूरगामी प्रभाव, गलत नजिरको नराम्रो छापको पुनराबृत्ति भइरहने प्रबल सम्भावना र अन्तर्राष्ट्रिय संरक्षण समुदायमा जाने नकारात्मक सन्देश प्रति सरोकारवाला निकायहरु सचेत हुनुपर्ने थियो। गैंडाको ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयले पूर्व निर्धारित गैंडा गणनाको काम सूचारु राख्न बिभागलाई आवश्यक सल्लाह सुझाव र दवाव दिनुपर्ने थियो।

गैंडा गणनाको माग गर्ने र दवाव दिने काम गैंडा विज्ञहरुको पनि हो। संरक्षण साझेदार संघसंस्थाहरुको पनि हो। प्रकृति तथा बातावरणबिद् र संरक्षणबिद्हरुको पनि हो। प्रकृतिप्रेमी तथा बन्यजन्तुप्रेमी सारा जनताहरुको पनि कर्तव्य हो। वातावरण पत्रकार र संचार माध्यमहरुबाट ती अवोध गैंडाले झनै ठूलो उद्धार र राहतको अपेक्षा रोखेका थिए।

किनभने गैंडा गणना हुनु भनेको गैंडा लगायत सबै बन्यजन्तुहरुको दु्ःख, पीडा, माग पत्तो लगाउनु र त्यसको सम्बोधनको उपायस्वरुप तयार पारिएको नीति र कार्यक्रम कायान्वयनमा लैजानु हो। नपुग कुरा पूरा गरिदिनु हो । बिग्रेको कुरा तत्काल सुधार गर्नु हो।

एकसिंगे गैंडा नेपालको प्रतीक हो। हाम्रो पहिचान र गौरब हो। पूर्खाहरुले हामीलाई हस्तान्तरण गरेको अमूल्य उपहार हो। हामीले भावी सन्ततिलाई बुझबुझारथ गर्नुपर्ने इतिहासको सजीव नासो हो।

विश्वभरीका पर्यटकहरु र आधुनिक क्यामराहरुलाई झुम्याउने रत्याउने गोप्य विज्ञापन हो। भोलिको सम्बृद्धिको जग र खम्बा हो। यसको संरक्षणमा मात्र राष्ट्रिय बिकास, राष्ट्रिय हित र राष्ट्रिय रक्षा शोभनीय हुन्छ। राष्ट्रिय प्रतीकलाई दुःख, कष्ट, सास्ती दिएर रुवाएर होइन, स्वस्थ खुशी सुखी र हँसाएर मात्र हामीले पाल्नुपर्दछ।

प्रकृतिको मानसम्मान र पूजा गर्ने देश मात्र उँभो लाग्दछ। पशुआशिष प्राप्त शासक, व्यबस्थापक, संरक्षक र मुलुकको मात्र हित रक्षा र कल्याण हुन्छ। तसर्थ, हामी पशुश्रापबाट बचौं र पशुआशिष लिन पछि नपरौं।

लेखक प्रकृति संरक्षण अभियन्ता हुन्

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position