कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइन, पहिलो दिनमै १३ जना

डिसी नेपाल
११ चैत २०७६ १३:४७

देउराली । कास्कीको रुपा गाउँपालिकाले २० शैयाको सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ।

गाउँपालिकाले आफ्नो इलाका भित्रका बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट  क्षमता भएको सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

ओझाले डिसी नेपालसँग कुरा गर्दै भने, “हामीले रुपाको देउरालीमा २० सिट क्षमताको क्वारेन्टाइन निर्माण गरेका छौँ, वैदेशिक रोजगारीबाट फर्किएका गाउँपालिकावासी नागरिकलाई १४ दिनसम्म अनिवार्य राख्छौँ । यसको सम्पूर्ण खर्च गाउँपालिका आफैले गर्छ, जसमा कोरोना नभएको पुष्टीभएसँगै उहाँहरुलाई घर पठाउँछौँ ।”

ओझाका अनुसार, गाउँपालिकामा रहेका ५ वटै स्वास्थ्य चौकीहरु अब २४ सै घण्टा खुल्ला हुनेछन् । जहाँ पर्याप्त मात्रामा ओषधीहरु राखिएका छन् भने गाउँबासीलाई नि:शुल्क रुपमा स्वास्थ्य चौकी आउन र थप उपचारकालागि अन्य अस्पताल लानुपर्ने भएमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ ।

२० सिटको नमुना क्वारेन्टाइन

विश्वभर कोरोनाको महामारी फैलिएसँगै कास्कीको रुपा गाउँपालिकाले २० शैयाको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ। जसमा विदेशबाट फर्किएका आफ्ना नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउने र संक्रमित भइहालेमा थप संक्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । जसमा क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्रि वाईफाई, शुद्ध पिउँने पानी र टेलिभिजन जडान गरिएको छ भने खानपान र औषधी उपचारको व्यवस्था पनि गाउँपालिका आफैँले गर्ने छ।

क्वारेन्टाइनमा पहिलो दिनमै १३ जना

रुपा गाउँपालिका ५ को विश्वशान्ति माध्यामिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्न पहिलो दिनमै १३ जना गाउँपालिकावासी आइपुगेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा भारत, साउदी, दुबई, मलेसिया, कतार लगाएतका देशबाट फर्किएका नागरिक रहेको गाउँपालिका स्रोतले जनाएको छ ।

उनीहरुको नियमित रुपमा स्वास्थ्य परीक्षण हुने र १४ दिनसम्म पनि कुनै प्रकारको संक्रमण नदेखिएपछि मात्रै घर पठाइने छ ।

यस्तै नेपाल सरकारले सोमबार काठमाडौँमा एक नेपाली युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएसँगै आजदेखि चैत्र १८ गतेसम्मका लागि अल नेपाल ‘लकडाउन’ गरेको छ । आज अत्यावश्यक सेवा बाहेक सबै कार्यालयहरु बन्द छन् । हालसम्म एक नेपाली युवती बाहेक कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको छैन ।

मंगलबार दिउँसोसम्म विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसबाट ३ लाख ८२ हजार ३ सय ६६ जना मानिस संक्रमित भएका छन्। जसमध्ये १६ हजार ५ सय ६८ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *